लिखुमा डेंगु रोकथाम तथा नियन्त्रणका लागि सचेतना र्याली सम्पन्न

नुवाकोट, असार ८ — डेंगु रोगको बढ्दो जोखिमलाई मध्यनजर गर्दै लिखु गाउँपालिकामा समुदायस्तरमा सचेतना र्याली कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रम लिखु गाउँपालिकाका अध्यक्ष ध्रुव श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो भने उपाध्यक्ष शुभद्रा अधिकारी उप्रेति कार्यक्रमकी प्रमुख अतिथि रहेकी थिइन ।
स्वास्थ्य शाखाको समन्वयमा आयोजित सो र्यालीमा स्वास्थ्य शाखा प्रमुख भीमबहादुर रोक्का, क्षेत्रपाल माध्यमिक विद्यालयका प्रधानाध्यापक हरि सुवेदी, शिक्षक, विद्यालय नर्स, विद्यार्थी, महिला स्वास्थ्य स्वयंसेविका तथा स्थानीय स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरूको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रममार्फत सहभागीहरूलाई डेंगु रोगका लक्षण, कारण, संक्रमणको बाटो तथा रोकथामका उपायहरूबारे जानकारी दिइएको थियो। जनचेतना र्यालीले समुदायमा डेंगुबारे सचेतना फैलाउने उद्देश्य लिएको आयोजकहरूले जनाएका छन्।
उपस्थित सम्पूर्ण व्यक्तित्व तथा सहभागीहरूप्रति आयोजकले धन्यवाद ज्ञापन गर्दै सबैलाई आ–आफ्नो गाउँ–टोलमा डेंगु रोगको रोकथाम तथा नियन्त्रणका उपायहरू अपनाउन आग्रह गरिएको छ।
सार्वजनिक सरसफाइ, पानी जम्न नदिने, लामखुट्टे नष्ट गर्ने जस्ता उपायहरू अपनाई डेंगु विरुद्धको अभियानमा सबैको सक्रियता आवश्यक रहेको जनाइएको छ।