मेलम्चीको पानी नियमित नआउँदा उपत्यकावासी हैरान



काठमाडौं,असार ९ । काठमाडौँ उपत्यकाका धेरै स्थानमा मेलम्चीको पानी हप्तौँदेखि नआएको उपभोक्ताको गुनासो छ। ललितपुरको सानेपा, झम्सिखेल, बखुन्डोल र बगलामुखी, काठमाडौँको तीनकुने, बत्तिसपुतली, कोटेश्वर, जडीबुटी लगायतका क्षेत्रमा धारामा पानी नआएको एक हप्ता नाघिसकेको छ।

प्रदेश सांसद सुनील केसीले उपत्यकाका विभिन्न क्षेत्रमा ट्याङ्करको पानी किनेर खानुपर्ने बाध्यता रहेको र त्यसको शुद्धता कसरी सुनिश्चित हुने भन्ने प्रश्न उठाए । उपभोक्ता मञ्च अध्यक्ष प्रेमलाल महर्जन र वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारीले समेत नियमित पानी आपूर्ति नभएकोमा गुनासो गर्दै सरकारको आश्वासनमात्र बाँड्ने प्रवृत्तिको आलोचना गरे।

मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तका अनुसार वर्षायाममा मेलम्ची खोलाको पानी अत्यधिक धमिलो हुने भएकाले सुरुङमा पानी पथान्तरण बन्द गर्नुपरेको हो। यही कारण दैनिक पठाइने १७ करोड लिटर पानीको मात्रामा कटौती भएको छ।

केयुकेएल प्रवक्ता प्रकाशकुमार राईले पनि बर्खामा सुरुङ र प्रशोधन केन्द्रलाई असर गर्ने पानी नपठाइएको स्पष्ट पार्दै यसले नियमित आपूर्तिमा समस्या आएको स्वीकार गरे ।

प्रतिक्रिया दिनुहोस्