शवदाह मेसिन खरिदमा अनियमितता, पशुपति कोषका सदस्यसचिव डा. थापासहित १६ विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ, असार ९ – शव जलाउने विद्युतीय मेसिन खरिद तथा जडानमा अनियमितता भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. मिलनकुमार थापासहित १६ जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
मुद्दामा १४ जना व्यक्ति र दुई कम्पनीलाई प्रतिवादी बनाइएको छ। आयोगका अनुसार अनुभव नभएका परामर्शदाता नियुक्ति, नक्कली कोटेसन, कम गुणस्तरको मेसिन जडानजस्ता कार्यबाट कोषलाई १० करोड ३३ लाख ९१ हजार रुपैयाँ हानी पुगेको छ।
प्रतिवादीमा कोषका तत्कालीन र हालका उच्च कर्मचारी, परामर्शदाता, इन्जिनियर, लेखा अधिकृत र कानुनी सल्लाहकारसमेत छन्।
सदस्यसचिव डा. थापाले भने आफू खरिद र भुक्तानी प्रक्रियामा संलग्न नरहेको दाबी गरेका छन् ।