नदी जलसतहमा बढोत्तरीको पूर्वानुमान, सतर्कता अपनाउन आग्रह



काठमाडौं, असार ९ – जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनका लागि देशका विभिन्न नदीहरूको जलसतहमा बढोत्तरी हुने पूर्वानुमान गरेको छ। विभागका अनुसार कर्णाली, महाकाली र तिनका प्रमुख सहायक नदीहरू, साथै पूर्वी राप्ती, पश्चिम राप्ती, कमला, बागमती र बबई नदीको जलसतह हाल सतर्कता तहभन्दा तल रहने भएपनि क्रमशः बढ्ने सम्भावना रहेको छ।

यसबाहेक कोशी, नारायणी, कन्काई र तिनका सहायक नदीहरूमा जलसतह सतर्कता तह आसपास पुग्ने पूर्वानुमान गरिएको छ। यस्तो अवस्थामा नदी किनार तथा तटीय क्षेत्रमा बसोबास गर्ने समुदायलाई सावधानी अपनाउन विभागले आग्रह गरेको छ।

विभागले नदी आसपासका क्षेत्रहरूमा रहेका बासिन्दा, स्थानीय प्रशासन र सरोकारवाला निकायहरूलाई आवश्यक सतर्कता अपनाउन र जोखिमयुक्त गतिविधिहरूबाट टाढा रहन अनुरोध गरेको छ। विशेष गरी वर्षा भइरहेका बेलामा नदीमा आएको पानीको बहाव अचानक बढ्न सक्ने भएकाले जथाभावी तर्न, नदी छेउमा गोठ हाल्ने, बालबालिकालाई खोलानाला आसपास खेल्न दिने जस्ता गतिविधि नगर्न अनुरोध गरिएको छ।

प्रतिक्रिया दिनुहोस्