सिराहामा सिँचाइका क्रममा करेन्ट लागेर वृद्धको मृत्यु, विद्युत् सुरक्षाबारे चेतनामूलक कार्यक्रमको माग



सिरहा, असार ९ – सिराहाको गोलबजार नगरपालिका–१३ दुर्गापुर डङ्गराहामा आज बिहान करेन्ट लागेर एक वृद्धको ज्यान गएको छ। स्थानीय ६२ वर्षीय रामपृत पण्डितको आफ्नै धानखेतमा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको वडाध्यक्ष नन्दकुमार महतोले जानकारी दिए ।

बिहान चिया खाएर खेत गएका पण्डितले सिँचाइ गर्न खोज्ने क्रममा विद्युत् तार सही तरिकाले नजोडिँदा करेन्ट लागेको प्रारम्भिक अनुमान गरिएको छ। घटनापछि इलाका प्रहरी कार्यालय, गोलबजारका प्रमुख प्रहरी निरीक्षक गोविन्द साहका अनुसार प्रहरी टोली घटनास्थलमा पुगेर मुचुल्का तयार गरी शव उठाउने काम भइरहेको छ।

वडाध्यक्ष महतोका अनुसार सोही गाउँमा गत वर्ष पनि सिँचाइका क्रममा करेन्ट लागेर एकजनाको ज्यान गएको थियो। उनले ग्रामीण क्षेत्रमा विद्युत् सुरक्षाबारे जानकारीको अभावले वर्षायाममा विशेषगरी पम्प प्रयोग वा मर्मत गर्दा सावधानी नअपनाउने, नाङ्गो तार छोप्ने, जमिनमै प्लग राख्ने जस्ता कार्यका कारण अकालमा ज्यान जाने क्रम बढिरहेको बताए ।

यस घटनापछि स्थानीयवासीहरूले विद्युत् सुरक्षाबारे चेतनामूलक कार्यक्रम सञ्चालन गर्न माग गरेका छन्। सरोकारवाला निकायले तत्काल ध्यान नदिए यस्ता दु:खद घटनाहरू दोहोरिने जोखिम रहेको स्थानीयको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्