रसुवाका पाँचै गाउँपालिका “पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका” घोषित



रसुवा, असार ९ – रसुवाका पाँचै गाउँपालिका “पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका” घोषित भएका छन्। “स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता; पूर्ण खोप सुनिश्चितता, हाम्रो प्रतिबद्धता” भन्ने मूल नारासहित आइतबार गोसाइंकुण्ड गाउँपालिका घोषणा भएसँगै जिल्लाका सबै पालिकाले पूर्ण खोप सुनिश्चितता प्राप्त गरेका हुन्।

जनस्वास्थ्य कार्यालय रसुवाका प्रमुख झमप्रसाद आचार्यका अनुसार जिल्लाका २७ वटै वडामा १५ महिनाभित्र १५ महिना उमेर समूहका सबै बालबालिकाले निर्धारित खोप प्राप्त गरेको पुष्टि भएपछि घोषणा गरिएको हो।

पूर्ण खोप निर्देशिका २०७१ र तय गरिएका सूचकहरूको आधारमा पोलियो, दादुरा, हेपाटाइटिस बी, जापानी इन्सेफ्लाइटिस, रुबेला, झाडापखाला, टाइफाइड लगायतका रोगविरुद्ध सबै मात्रा खोप लगाएको हुनुपर्ने प्रावधान छ।

खोप सुनिश्चितताका लागि स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि, राजनीतिक दल तथा पत्रकारहरूको सक्रिय भूमिका रहेको गोसाइंकुण्ड गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विमल घिमिरेले बताए ।

नेपाल सरकारले सन् २०१२ देखि पूर्ण खोप सुनिश्चितताको अभियान सञ्चालन गर्दै आएको छ। राष्ट्रिय खोप तालिकाअनुसार सबै बालबालिकाले खोप प्राप्त गरी रोकथाम योग्य रोगहरूबाट सुरक्षित हुन सकून् भन्ने उद्देश्यले यो अभियान अघि बढाइएको हो।

प्रतिक्रिया दिनुहोस्