बुटवल–नारायणगढ सडकखण्डको वैकल्पिक मार्ग पनि अवरुद्ध, यातायात पूर्ण रूपमा ठप्प



नवलपरासी (बर्दघाट सुस्तापूर्व), असार ९ – बुटवल–नारायणगढ सडकअन्तर्गत विनयी त्रिवेणी गाउँपालिका–१ दुम्कीवासस्थित डाइभर्सन बगाएपछि सवारी आवागमनका लागि प्रयोग हुँदै आएको वैकल्पिक मार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको छ।

विनयी त्रिवेणी–३ स्थित खरङ्गे खोलामा अत्यधिक पानीको बहाव भएपछि उक्त भित्री वैकल्पिक मार्गबाट सवारीसाधन सञ्चालन असम्भव भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक यादव ढकालले जानकारी दिए ।

यसअघि दुम्कीवास क्षेत्रको मुख्य पुल भाँचिएपछि अस्थायी डाइभर्सनमार्फत सवारी आवतजावत हुँदै आएको थियो। तर निरन्तरको वर्षासँगै डाइभर्सन पनि बगाएपछि होल्डमा रहेका साना तथा मध्यम (१२ चक्केसम्म) सवारीसाधनलाई वैकल्पिक भित्री मार्ग हुँदै होङ्सी गेट, सर्दी र ज्यामिरे राजमार्ग प्रयोग गर्न भनिएको थियो।

अब त्यो मार्ग समेत अवरुद्ध भएपछि दाउन्ने–दुम्कीवास सडकखण्डमा सवारीसाधन पूर्ण रूपमा ठप्प भएको प्रहरी उपरीक्षक ढकालले बताए ।

अस्थायी डाइभर्सनको भरपर्दो व्यवस्था नहुँदा र वर्षासँगै खोलानालामा आएको बाढीले सडक क्षतिग्रस्त बनाउँदा यात्रुहरू निकै कठिनाइमा परेका छन्। यस क्षेत्रमा तत्काल वैकल्पिक समाधान नभएसम्म यातायात सेवा सुचारु हुने अवस्था देखिएको छैन।

प्रतिक्रिया दिनुहोस्