विदुर नगरसभा एमालेको बहिष्कारपछि स्थगित

नुवाकोट,असार ९ । विदुर नगरपालिकाको १७औँ नगरसभा नेकपा (एमाले) को बहिष्कारका कारण गणपुरक संख्या नपुगेर तीन दिनका लागि स्थगित गरिएको छ। नगरसभामा कुल ६६ सदस्यमध्ये नेपाली कांग्रेस र माओवादीका मात्र २७ जना प्रतिनिधि सहभागी भएपछि मेयर तथा सभाध्यक्ष राजन श्रेष्ठले स्थगनको घोषणा गरे ।
संविधानअनुसार पहिलो नगरसभा आह्वानमा ५० प्रतिशत सदस्यको उपस्थिति अनिवार्य छ। स्थानीय तह सञ्चालन कार्यविधिअनुसार अब तीन दिनभित्र अर्को बैठकको सूचना दिनुपर्नेछ। एमालेले नगरसभा अघि आफ्ना मागहरू बैठक कार्यसूचीमा समावेश नगरिएको भन्दै असन्तुष्टि जनाउँदै बहिष्कार गरेको हो।
एमाले निकट वडा अध्यक्ष लेलिन रन्जितका अनुसार बैठक रोक्ने भन्दा पनि सहभागिता नजनाउने निर्णयमा पुगेको बताए। यद्यपि, बुधबार असार ११ गते बस्ने पुनः नगरसभामा सहभागी हुने संकेत एमालेले दिएको छ।
मेयर श्रेष्ठका अनुसार संविधानअनुसार असार १० गतेभित्र नीति, कार्यक्रम र बजेट प्रस्तुत गर्नुपर्ने भएकाले बैठक सञ्चालन गरिएको हो। कांग्रेस निकट सदस्यहरूले भने एमालेले बजेटमा आफ्ना योजनालाई प्राथमिकता नदिइएको भन्दै बहिष्कार गरेको आरोप लगाएका छन्। नगरसभा अब असार ११ गते बिहान ११ बजे विदुरको सुखद पाहुना घरमा बस्नेछ।