स्थानीय तह आज बजेट सार्वजनिक गर्दै



काठमाडौँ, असार १० । देशभरका ७ सय ५३ वटै स्थानीय तहले आज आगामी आर्थिक वर्ष २०८२/८३ को लागि बजेट सार्वजनिक गर्दैछन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार हिजोसम्म ४० स्थानीय तहले बजेट सार्वजनिक गरिसकेका छन्।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र अन्तर सरकार वित्त व्यवस्थापन ऐन, २०७४ अनुसार असार १० गतेभित्र सबै स्थानीय तहले बजेट सम्बन्धित गाउँ वा नगर सभामा पेस गर्नुपर्ने कानुनी व्यवस्था छ। असार मसान्तसम्म बजेट पारित गरिसक्नुपर्ने प्रावधान रहेको छ।

स्थानीय तहको बजेटको मुख्य स्रोत संघीय सरकारबाट प्राप्त चार प्रकारका अनुदान—वित्तीय समानीकरण, सशर्त, समपूरक र विशेष अनुदान तथा राजस्व बाँडफाँटबाट प्राप्त रकम हुन्। यद्यपि समयमै बजेट नल्याउने स्थानीय तहले अनुदान पाउन समस्या हुने गरेको छ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले समयमै बजेट पेस नगर्ने स्थानीय तहको मूल्याङ्कनमा असर पर्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्