लिखु गाउँपालिकाको १७औँ गाउँसभा सम्पन्न, ४९ करोड ३६ लाखको बजेट पारित

नुवाकोट, असार १० — नुवाकोटको लिखु गाउँपालिकाको १७औँ गाउँसभा सम्पन्न भएको छ। गाउँपालिका अध्यक्ष ध्रुव श्रेष्ठको सभाध्यक्षतामा बसेको अधिवेशनले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ४९ करोड ३६ लाख ६२ हजार रुपैयाँको बजेट पारित गरेको छ।
गाउँपालिका उपाध्यक्ष शुभद्रा अधिकारीले नीति तथा कार्यक्रम, बजेट वक्तव्य र विनियोजन विधेयक–२०८२ सभा समक्ष प्रस्तुत गरेकी थिइन । साथै, न्यायिक समितिको वार्षिक प्रतिवेदन र राजस्व परामर्श समितिका संयोजक नरहरि पाण्डेले पेश गरेको आर्थिक विधेयक समेत पारित गरिएको छ।
सभामा गाउँपालिका–३ स्थित सिमलचउरमा ‘मल्टी कोल्ड स्टोर’ स्थापना गर्ने र गाउँपालिकाको केन्द्र वडा नं. ४ गड्खारमा स्थानान्तरण गर्ने विशेष प्रस्ताव पनि सर्वसम्मत तथा बहुमतबाट पारित गरिएको छ।
गाउँसभाबाट पारित नीति, कार्यक्रम तथा बजेटले आगामी वर्षमा पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य र प्रशासनिक सुधारका क्षेत्रमा प्राथमिकता दिइने प्रमुख प्रशासकीय अधिकृत शेरसिंह रावतले जनाए ।