प्रतिनिधि सभाबाट विनियोजन विधेयक २०८२ पारित



काठमाडौं,असार १० । प्रतिनिधि सभाबाट विनियोजन विधेयक २०८२ पारित भएको छ । बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पेश गरेको विनियोजन विधेयक २०८२ पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको हो । 

बैठकमा विनियोजन विधेयक २०८२ माथिको छलफलका क्रममा विभिन्न सांसदहरूले राख्नुभएको खर्च कटौतीको प्रस्तावहरू बहुमतले अस्वीकृत भएको थियो । 

यस अघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतका बजेट शीर्षकहरू माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले लामो सङ्घर्ष र बलिदानबाट प्राप्त अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र वर्तमान संविधानको अपमान सह्य नहुने बताए । 

प्रधानमन्त्री विगतका सङ्घर्ष र शहीदहरूको अपमान, प्रणालीको अपमान र संविधानको अपमान सह्य नहुने भन्दै बोल्ने क्रममा यी विषयमा संयमता अपनाउन सांसदहरूलाई आग्रह गरे । 

बजेटमाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिदै प्रधानमन्त्री ओलीले माग र आपूर्तिबिचको असन्तुलनका कारण सबै सन्तुष्ट हुने सर्वसम्मत बजेट सम्भव नहुने र यसको आलोचना स्वाभाविक रहेको बताए । 

प्रधानमन्त्री ओलीले सबैलाई विकास चाहिए पनि बजेट कम भएका कारण विकासको गति सुस्त देखिएको देखिएकोप्रति सरकार सचेत रहेको र सरकारी निकायको कार्यक्षमता अभिवृद्धि गर्न ध्यान केन्द्रित गरेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्