शिवपुरी गाउँपालिकाको ६० करोडको बजेट, सूचना प्रविधिमैत्री सेवा प्रणालीमा विशेष प्राथमिकता

नुवाकोट, असार १० – शिवपुरी गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि कुल रु. ६० करोड ४८ लाख ८६ हजार ३३३ रुपैयाँको बजेट सार्वजनिक गरेको छ। गाउँसभामार्फत प्रस्तुत गरिएको बजेटमा सूचना प्रविधिमा आधारित सेवा प्रवाहलाई प्राथमिकता दिइएको छ।
गाउँपालिकाले आगामी वर्षभित्र सबै सेवा प्रणालीलाई सूचना प्रविधिमैत्री बनाउने लक्ष्य राखेको छ। यस अन्तर्गत अब हस्तलिखित सेवा बन्द गर्दै, अनलाइन सिफारिस, राजस्व संकलन सफ्टवेयर, टोकन प्रणाली, क्यूआर कोड, र डिजिटल गुनासो व्यवस्थापन प्रणालीको प्रयोग गरिनेछ। साथै, डिजिटल सूचना पाटी, डिजिटल सोधपुछ कक्ष, र सबै वडामा सूचना केन्द्र स्थापना गरिनेछ।
नेपाल सरकारको ई-शासन अवधारणालाई आत्मसात गर्दै गाउँपालिकाले कागजविहीन प्रशासन (पेपरलेस गभर्नेन्स) प्रणाली कार्यान्वयन गर्नेछ। साथै, डिजिटल गाउँ प्रोफाइल निर्माण गरी नागरिकहरूको पेशा, व्यवसाय, सामाजिक–आर्थिक अवस्था लगायतका विवरणहरू समेटिनेछ।
शिवपुरी गाउँपालिकाको यस प्रविधिमैत्री योजनाले सेवा प्रवाहलाई पारदर्शी, छरितो र नागरिकमैत्री बनाउने अपेक्षा गरिएको छ।