पाँच महानगरपालिकाले समयमै बजेट सार्वजनिक, काठमाडौंमा अझै अन्योल

काठमाडौँ, असार ११— मुलुकका ६ महानगरपालिका मध्ये पाँचले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट सार्वजनिक गरेका छन् भने काठमाडौं महानगरपालिकाले भने अझै बजेट सार्वजनिक गर्न सकेको छैन।
ललितपुर महानगरपालिकाले मंगलबार ७ अर्ब ४७ करोड ४१ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। यसैगरी पोखराले ८ अर्ब ३५ करोड १२ लाख, विराटनगरले ४ अर्ब ४० लाख, भरतपुरले ५ अर्ब १९ करोड ७१ लाख ६६ हजार, र वीरगञ्जले ३ अर्ब २२ करोड ४८ लाख ४९ हजार रुपैयाँको बजेट नगरसभामा प्रस्तुत गरेका छन्।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तर सरकार वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ अनुसार सबै स्थानीय तहले हरेक वर्ष असार १० गतेभित्र आफ्ना नीति, कार्यक्रम र बजेट सम्बन्धित गाउँ वा नगर सभामा पेश गर्नुपर्ने कानुनी व्यवस्था छ। यसपटक पाँचै महानगरले उक्त समयसीमा भित्र बजेट प्रस्तुत गरेका हुन्।
तर काठमाडौं महानगरपालिकामा भने अझै बजेट सार्वजनिक हुन सकेको छैन। नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका कारण बजेट ल्याउन ढिलाइ भएको वडाध्यक्षहरूले बताएका छन्। काठमाडौं महानगरपालिका–३ का वडाध्यक्ष प्रेम थापाका अनुसार, प्रमुख प्रशासकीय अधिकृत साढे दुई महिना अघि मात्र कार्यालयमा हाजिर भएका थिए। हाजिर भएपश्चात पनि मेयर र प्रशासकीय अधिकृतबीच समन्वय र सहकार्यको अभावका कारण बजेट समयमै प्रस्तुत गर्न नसकिएको हो।
यसैबीच, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको वेबसाइटमा उपलब्ध विवरण अनुसार हालसम्म देशभरका ७५३ स्थानीय तहमध्ये १८० ले मात्र बजेट सार्वजनिक गरेको अद्यावधिक विवरण देखिन्छ। तर मन्त्रालयले विवरण अपडेट हुन बाँकी रहेको र बजेट ल्याउने स्थानीय तहको संख्या अझै बढी हुन सक्ने जनाएको छ।