नुवाकोटको लिखुमा पुरुषोत्तम अर्यालको ड्रागन फ्रुट खेतीले देखाएको उदाहरणीय प्रेरणा

• भरतसन्तोषी लामा
नुवाकोट,असार ११ । छतको कुनामा जारभित्र उम्रिएको एउटा बिरुवाले कति सपना अङ्कुराउन सक्छ? सम्भवत: नुवाकोटको लिखु गाउँपालिका–१, बराफेदीका पुरुषोत्तम अर्यालसँग यो प्रश्नको सुन्दर जवाफ छ। सरकारी सेवामा सहायक प्रशासकीय अधिकृतका रूपमा कार्यरत अर्यालको बिहान बेलुका चिया पसलमा गफ गर्दैमा समय बित्थ्यो, तर एकदिन उनले त्यो सस्तो रमाइलो गफ भन्दा परको यात्रा रोजे। त्यो यात्रा थियो– माटोसँगको, पसिनासँगको, र आफैँसँगको पुनः चिनजानको। आज त्यो यात्रा साढे दुई रोपनीको हरियालीमा फस्टाएको छ, जहाँ ड्रागन फ्रुटका ८ सय बोटहरू अनि समय–समयमा रंगीन फल लिएर मुस्कुराइरहेका छन्।
यो सुरु भयो कौसीबाट। कोरोना महामारीको समयमा जब सहर थल्यो, अर्यालको मन भने माटोतर्फ सल्बलायो। युट्युबको स्क्रिनबाट उनले सिके– कसरी फलफूल रोप्ने, कसरी बोटसँग संवाद गर्ने, र कसरी आफ्नो थकाइलाई हरियालीमा रूपान्तरण गर्ने। सुरुवातमा २७२ वटा जारमा ड्रागन फ्रुट रोपे। त्यो पहिलो अनुभव कस्तो थियो? उनी भन्छन्, “बिउ रोप्दा लाग्थ्यो, आफ्नै सपना रोप्दैछु।”
तर हरेक सफलता सिधा र सहज हुँदैन। उनले पहिलो प्रयास एभोकाडोबाट थाले, १११ वटा बिरुवा रोपे, तर मौसमले साथ दिएन। प्राविधिक जानकारी नहुँदा धेरै बिरुवा सुकाए। नोक्सानी थियो, तर मन बुझाउने आँट पनि थियो। त्यो आँटले उनलाई पुनः उठायो। उनले कुभिण्डो रोपे, स्ट्रबेरी रोपे, मेवा, चाइनिज हलुवावेद रोपे। तर ड्रागन फ्रुट भने उनको बगैँचाको राजा बन्यो।
बराफेदीको चिसो हावासँग घुलमिल भएको ड्रागन फ्रुट खेती अब व्यवसायीक मोडमा पुगिसकेको छ। त्रिशुली–छहरे हाइवे सडक छेउमै भएकाले बजारसम्म पुग्न सजिलो भएको छ । तर बजारभन्दा अगाडि पुगेको त स्वादले हो। बोटैमा पाकेको ड्रागन फ्रुट हेर्दा लोभलाग्दो, खाँदा मिठो। ग्राहकहरू फल खाएपछि फेरि–फेरि सम्पर्कमा आउछन्, कतिपय त घरसम्म्मै आइपुग्छन्।
उनको बगैँचामा अहिले ड्रागन फ्रुटले २०–२२ दिनको फरकमा फल दिइरहेको छ । स्थानीय पसलमा माग उच्च छ, व्यापारीहरू खरिदका लागि घरमै आउँछन्। उनी गर्वका साथ भन्छन्, “अब बजारको विषादीयुक्त फल म खान्न, आफ्नै बगैँचाले पुग्छ।”
पुरुषोत्तम अर्याल अंग्रेजी विषयमा स्नातकोत्तर हुन, नेपाल टेलिकममा सरकारी जागिर छ। तर उनले जागिरलाई मात्रै जीवन मानेनन्। उनी दिनको ८ घण्टा अफिसमा बिताउँछन्, तर बिहान र बेलुकाको समय बगैँचामा बिताउँछन्। समाजमा फैलिएको “जागिरवालाले खेती गर्दैन” भन्ने सोचलाई उनले आफ्नो माटो र मेहनतले खारेज गरिदिएका छन्।
आज बराफेदीमा अर्यालको बगैँचामा फुलेका ड्रागन फ्रुटका बोटहरूले देखाइरहेका छन्– स्वाभिमानको फुल, आत्मनिर्भरता र नविन सम्भावनाको फल। उनको कथा केवल एउटा सफल किसानको होइन, त्यो त होस, हिम्मत र आशाको साझा यात्राको कथा हो। यस्तो कथा, जसले थुप्रै युवाहरूलाई फेरि एकपटक सोच्न बाध्य बनाउँछ– “के हामी पनि यस्तो केही गर्न सक्दैनौं?”