देशभर मनसुनी प्रभाव : केही स्थानमा भारी वर्षा र हिमपातको सम्भावना

काठमाडौँ,असार ११ — हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार बुधबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।
सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागका केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। कोशी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भने भारीदेखि धेरै भारी वर्षा हुनसक्ने महाशाखाले चेतावनी दिएको छ।
त्यस्तै, सबै प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र हिमपातको पनि सम्भावना रहेको जनाइएको छ।
आज राति कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित अन्य पहाडी भूभागमा सामान्य बदली रहनेछ भने तराई लगायतका बाँकी भागमा आंशिकदेखि सामान्य बदली हुने अनुमान छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
सावधानी अपनाउन महाशाखाले सबैलाई आग्रह गरेको छ, विशेष गरी हिमाली तथा पहाडी क्षेत्रमा यात्रा गर्दा सतर्कता आवश्यक हुने बताइएको छ।