विपद् न्यूनीकरणमा सञ्चारको भूमिका महत्वपूर्ण : गृहमन्त्री लेखक



काठमाडौं,असार ११— गृहमन्त्री रमेश लेखकले सही समयमा सूचना प्रवाह गर्न सकेमा विपद्बाट हुने क्षति न्यूनिकरण गर्न सकिने बताएका छन्।

विपद् पत्रकारिता सञ्जालद्वारा आयोजित ‘विपद् व्यवस्थापनमा पत्रकारको भूमिका’ विषयक एक दिवसीय प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै मन्त्री लेखकले सञ्चारको सक्रियता र संवेदनशीलता अपरिहार्य रहेको बताए।

उनले विपद्का बेला सञ्चार नै संकट व्यवस्थापनको आधार हुने भन्दै आपत्कालीन सञ्चार संरचना सुदृढ गर्न सरकार अग्रसर रहेको जानकारी दिए। साथै पत्रकारको सुरक्षामा पनि ध्यान दिने उल्लेख गर्दै सबै निकायको समन्वयमा मात्र प्रभावकारी विपद् न्यूनीकरण र प्रतिकार्य सम्भव हुने बताए।

मनसुनजन्य विपद्का सन्दर्भमा नेपाली सेनाको हेलिकप्टर तयारी अवस्थामा रहेको जनाउँदै लेखकले विपद् प्रतिकार्यका लागि सीमित स्रोतसाधनमा पनि सरकारले तयारी गरिरहेको बताए। सातै प्रदेशका आपतकालीन गोदाम प्रदेश सरकारलाई हस्तान्तरण गरिएको र जिल्ला विपद् समितिहरूलाई राहत तथा तयारीका लागि निर्देशन दिइसकेको बताए।

कार्यक्रममा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणका कार्यकारी प्रमुख ई. दिनेश भट्टले विपद् प्रतिकार्यका लागि राष्ट्रिय कार्ययोजना कार्यान्वयनमा रहेको जानकारी दिए। साथै सवारी साधन नियन्त्रणबारे गृह मन्त्रालयलाई ७७ वटै जिल्लाका सुरक्षा समितिलाई निर्देशन दिन अनुरोध गरिएको बताए।

नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले सञ्चार रणनीति, अफवाह व्यवस्थापन र पुनःस्थापनामा पत्रकारको भूमिका महत्वपूर्ण रहेको बताए। सञ्जालका महासचिव श्रीजन झाले विपद् बेलामा सञ्चारमाध्यमले जनचेतना अभिवृद्धिमा पुर्‍याउने योगदान उल्लेख गरे।

दोस्रो सत्रमा वरिष्ठ पत्रकार रधु मैनाली र रासस अध्यक्ष धमेन्द्र झाले विपद्को अवधारणा, चुनौती र पत्रकारको भूमिकाबारे अनुभव र सुझाव प्रस्तुत गरे।

प्रतिक्रिया दिनुहोस्