दोलखाका दिपेन्द्र बने सीड्नीका सफल ‘बिल्डर्स’

दोलखा,असार ११ । दोलखा नाम्दुमा जन्मिएका दिपेन्द्र उप्रेतीले काठमाडौंमा इन्जिनियरिङ अध्ययन गरेपछि अस्ट्रेलिया पुगेर ‘बिल्डर्स’ बन्ने सोच कहिल्यै गरेका थिएनन । तर शिक्षा र अवसरको खोजीले उनलाई सन् २०१३ मा व्यवसायिक सिभिल इन्जिनियर भिसामा अस्ट्रेलिया पुर्यायो।
नेपालमा आइटेको नेपाल प्रालीमा सडक विकासमा संलग्न रहेका दिपेन्द्रले अस्ट्रेलिया आएपछि सुरुमा विभिन्न निर्माण कम्पनीमा काम गर्दै अनुभव बटुले। संघर्षको यात्रा पार गर्दै उनले सन् २०१८ मा बिल्डिङ कन्स्ट्रक्सन लाइसेन्स प्राप्त गरे र ‘क्यालीबर बिल्डर्स’ नामक आफ्नै निर्माण कम्पनी सुरु गरे ।
सीड्नीको प्रतिस्पर्धात्मक बजारमा उनले कम्पनीलाई भरोसायोग्य ब्रान्डको रूपमा स्थापित गर्न सफल भए । सन् २०१९ देखि हालसम्म दिपेन्द्रले सयभन्दा बढी घर निर्माण गरी ग्राहकलाई हस्तान्तरण गरिसकेका छन् । आफै सिभिल इन्जिनियर भएकाले पनि उनी निर्माण स्थलमै सक्रिय रहन्छन् जसले गर्दा ग्राहक सन्तुष्ट छन्।
दिपेन्द्र भन्छन्, “क्यालीबर बिल्डर्सलाई इमानदारी र विश्वासको आधारमा अघि बढाउन चाहन्छौं। हाम्रो उद्देश्य भनेकै ग्राहकको सन्तुष्टि हो।”
नेपाली समुदायको उपस्थिति विभिन्न पेशा व्यवसायमा देखिन थालेको सीड्नीमा निर्माण कम्पनीमा पनि नेपाली सहभागिता बढ्दै गएको छ। दिपेन्द्रजस्ता इन्जिनियरको सक्रियताले अब यो क्षेत्र नेपालीका लागि सम्भावनाको नयाँ ढोका बन्दै गएको छ।