संगमचोक योग साधना केन्द्रको प्रथम वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

नुवाकोट,असार ११ — विदुर नगरपालिकाको संगमचोक योग साधना केन्द्रले आफ्नो प्रथम वार्षिकोत्सव कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। बुधबार आयोजित उक्त कार्यक्रममा नगरप्रमुख राजन श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो।
कार्यक्रममा विदुर नगरपालिका वडा नं. २ का अध्यक्ष दीपक कायस्थ, वडा नं. ४ का अध्यक्ष नीलमबाबु ढुङ्गेल, नगर खेलकुद विकास समितिका संयोजक अच्युतराज महन्त गिरीलगायत विभिन्न क्षेत्रका सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा योग साधनाको महत्व र यसको निरन्तर अभ्यासद्वारा समाजमा सकारात्मक परिवर्तन ल्याउन सकिने विषयमा जोड दिइएको थियो। सहभागी वक्ताहरूले योगलाई जीवनशैलीमा समावेश गर्दै यसलाई समुदाय स्तरमा प्रवर्द्धन गर्न आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।
संगमचोक योग साधना केन्द्रले स्थानीयस्तरमा योगप्रति जनचेतना अभिवृद्धि गर्न र नियमित साधनाका कार्यक्रमहरू सञ्चालन गर्दै आएको जानकारी दिइएको छ।