भारतमा बन्धक बनाइएका ५८ नेपाली युवाको उद्धार



कञ्चनपुर,असार ११ । आकर्षक रोजगारीको प्रलोभनमा पारेर भारत पुराइएका ५८ नेपाली युवाको उद्धार गरी आज नेपाल ल्याइएको छ। उत्तराखण्ड राज्यको उधमसिंह नगर जिल्लाको रुद्रपुर र कासिपुरमा बन्धक बनाइएका ती युवालाई गड्डाचौकी नाकाबाट नेपाल ल्याइएको हो।

नागरिक संस्था ‘किन नेपाल/किन इण्डिया’, भारतस्थित नेपाली दूतावास, नेपाल प्रहरी र भारतीय प्रहरीको सहयोगमा उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी सागर बोहराले जानकारी दिए ।

घरघरमा राखी बन्धक बनाइएको जानकारीपछि नेपाली दूतावास र सरोकारवाला निकायको समन्वयमा उद्धार गरिएको हो। युवालाई बसमार्फत गड्डाचौकी ल्याइएपछि प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल र प्रदेश प्रहरी प्रमुख डिआइजी डम्बरबहादुर विश्वकर्माले स्वागत गरेका थिए ।

उद्धार गरिएकामध्ये ११ जना सुदूरपश्चिमका र ४७ जना विभिन्न १३ जिल्लाका रहेका छन्। सुदूरपश्चिमका युवालाई आजै घर पठाइएको छ भने अन्यका लागि अस्थायी बसोबासको व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ। घटनामा संलग्न दलालको खोजी र अनुसन्धान कार्य भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्