पूर्वप्रधानमन्त्री माधव नेपाललाई ३५ लाख धरौटीमा रिहा गर्ने विशेष अदालतको आदेश

काठमाडौं,असार ११ — पतञ्जलि योगपीठको जग्गा हिनामिना प्रकरणमा विशेष अदालतले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई धरौटीमा रिहा गर्न आदेश दिएको छ।
विशेष अदालतका न्यायाधीश तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको संयुक्त इजलासले नेपाललाई ३५ लाख रुपैयाँ नगद वा बैंक ग्यारेन्टीको धरौटीमा छाड्न आदेश दिएको हो। अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले थाहाखबरलाई उक्त जानकारी दिएका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जेठ २२ गते पतञ्जलि योगपीठको जग्गा प्रकरणमा नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। सोही मुद्दामा बयान दिन नेपाल बुधबार बिहान स्वयं अदालतमा उपस्थित भएका थिए।
२०७६ सालमा प्रधानमन्त्री रहेका बेला नेपालले मन्त्रिपरिषदबाट निर्णय गरी हदबन्दी छुटमा रहेको सरकारी जग्गा पतञ्जलिलाई खरिद गर्न स्वीकृति दिएका थिए। तर पछि हदबन्दीभन्दा बढी जग्गा खरिद तथा बिक्री भएको भन्दै उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो।
अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेसँगै नेपालको सांसद पद स्वतः निलम्बनमा परेको छ।