देशभर मनसुनी प्रभाव, भारी वर्षाको सम्भावनासहित सतर्कता अपनाउन आग्रह



काठमाडौं,असार १२ । देशभर हाल मनसुनी वायुको प्रभाव सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने मधेश र कोशी प्रदेशका अधिकांश भू–भागमा आंशिक बदली रही मौसम मुख्यतः सफा रहेको छ।

महाशाखाका अनुसार बिहीबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कर्णाली, सुदूरपश्चिम, गण्डकी र कोशी प्रदेशका पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम तथा एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना छ। उच्च–पहाडी र हिमाली क्षेत्रमा हल्कादेखि मध्यम वर्षा वा हिमपात हुन सक्नेछ। कोशी र मधेश प्रदेशका केही स्थानमा हावाहुरी चल्न सक्ने जनाइएको छ।

आज राति पनि मौसम आंशिकदेखि सामान्य बदली रहनेछ। पहाडी क्षेत्रहरूमा वर्षा र हिमपातको सम्भावना यथावत् रहनेछ।

महाशाखाले लगातार वर्षाका कारण नदीहरूमा पानीको सतह बढ्ने, बाढी, पहिरो, भूक्षय जस्ता विपद् आउन सक्ने भएकाले जनस्वास्थ्य, कृषि, यातायात तथा दैनिक जनजीवनमा सतर्कता अपनाउन अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्