प्रधानमन्त्री ओली स्पेन भ्रमणमा जाँदै



काठमाडौं,असार १२ । प्रधानमन्त्री केपी शर्मा ओली युरोपेली मुलुक स्पेनको औपचारिक भ्रमणका लागि यही शनिबार त्यसतर्फ जाँदैछन् । उनले असार १६–१९ गते स्पेनमा आयोजना हुने ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सहभागिता जनाउनेछन।

स्पेनका लागि नेपाली राजदूत शनिल नेपालका अनुसार भ्रमणको तयारी पूरा भइसकेको छ र त्यहाँस्थित नेपाली समुदाय स्वागतका लागि उत्साहित छन्। भ्रमणका क्रममा प्रधानमन्त्रीले स्पेनकी समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् भने सहयोग तथा सम्बन्ध विस्तारका विषयमा सहमति दस्तावेजमा हस्ताक्षर हुनेछ।

प्रधानमन्त्री ओलीले त्यहाँ रहेका नेपाली समुदाय, उद्योगी तथा व्यवसायीसँग पनि अन्तर्क्रिया गर्नुहुने कार्यक्रम रहेको छ। अन्य द्विपक्षीय भेटवार्ताहरू पनि तय भएका छन्।

नेपाल र स्पेनबीच सन् १९६८ मा कूटनीतिक सम्बन्ध स्थापना भए पनि सन् २०१८ मा मात्रै स्पेनमा आवासीय नेपाली राजदूतावास स्थापना गरिएको हो। हाल स्पेनमा करिब २० हजार नेपाली कृषि, पर्यटन, होटल तथा निर्माण क्षेत्रमा कार्यरत छन्।

दुई मुलुकबीच विगतमा पनि उच्चस्तरीय भ्रमणहरू भइरहेका छन्। पूर्वराजा वीरेन्द्र, पूर्वप्रधानमन्त्री प्रचण्ड, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलगायतले स्पेन भ्रमण गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्