बजेटमा असन्तुष्टि जनाउँदै कान्छाराम तामाङको चेतावनी : “नेतृत्वले मागे दुई मिनेटमै राजीनामा दिन्छु”



काठमाडौं,असार १२ । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री कान्छाराम तामाङले बजेट बाँडफाँडप्रति असन्तुष्टि जनाउँदै उपप्रधानमन्त्री तथा सहकारी विकासमन्त्री प्रकाशमान सिंहको आलोचना गरेका छन्। उनले सिंहले आफ्नै जिल्लामा मात्र बजेट केन्द्रित गरेर पार्टीलाई घाटा पुर्‍याएको आरोप लगाए।

सञ्चारमाध्यमसंग तामाङले भने, “पार्टी सभापति शेरबहादुर देउवाले बजेटको विषयलाई लिएर राजीनामा मागे दुई मिनेटभित्र बुझाउन तयार छु। मलाई पदको लोभ छैन।”

उनले अर्थमन्त्री विष्णु पौडेल र सहरी विकासमन्त्री प्रकाशमान सिंहलाई आफ्नो जिल्लामा मात्रै बजेट खन्याएको आरोप लगाउँदै संसदमा आफ्नो आलोचना उचित रहेको जिकिर गरे। पौडेलको जिल्लामा मात्रै ६ अर्ब ५० करोड रुपैयाँ बजेट गएको भन्दै उनले आपत्ति जनाए।

“सरकारलाई सचेत पार्न आलोचना गरेको हुँ, मन्त्री पद नपाएको रिसले होइन,” तामाङले स्पष्ट पारे। उनले आफूलाई टिकट नदिए पनि पार्टी छोड्ने सोच नरहेको पनि बताए।

प्रतिक्रिया दिनुहोस्