गोरखामा लिची बिक्रीबाट ११ करोडभन्दा बढी आम्दानी



गोरखा,असार १२— गोरखाका किसानले गत वर्षको तुलनामा यस वर्ष १ करोड १५ लाख रुपैयाँ बढी मूल्यको लिची बिक्री गरेका छन्। कृषि ज्ञान केन्द्र गोरखाका अनुसार गत वर्ष १० करोडको लिची बिक्री भएकोमा यस वर्ष ११ करोड १५ लाख बराबरको लिची बिक्री भएको हो।

कृषि ज्ञान केन्द्रका प्रमुख प्रकाश बस्ताकोटीका अनुसार अनुकूल मौसमका कारण उत्पादन ७.५ प्रतिशतले वृद्धि भई १८७ हेक्टर क्षेत्रमा १,७१६.६६ मेट्रिक टन लिची उत्पादन भएको हो।

लिची खेतीका लागि पालुङटार नगरपालिका पकेट क्षेत्रको रूपमा चिनिन्छ। वडा नं ६, ७ र ८ मा मात्रै जिल्लाको करिब ८० प्रतिशत लिची उत्पादन हुने गरेको छ। पालुङटारमा १५० हेक्टर क्षेत्रमा लिची खेती हुँदै आएको र करिब ३० हजार लिचीका बोट रहेका छन्।

हाल गोरखामा करिब १,५०० किसान व्यावसायिक लिची खेतीमा संलग्न छन्। क्षेत्रफल र किसानको संलग्नता बढ्दै गएकाले आगामी वर्ष उत्पादन अझै बढ्ने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्