भोटेकोशी, त्रिशुली, लाङ्टाङ र चिलिमे खोला आसपास बाढीको जोखिम, प्रशासनले सचेत रहन आग्रह

काठमाडौं, असार १२ । भोटेकोशी, त्रिशुली, लाङ्टाङ र चिलिमे खोलाको आसपासमा बाढीको जोखिम बढेपछि रसुवाको स्थानीय प्रशासनले उच्च सतर्कता अपनाउन वासिन्दालाई आग्रह गरेको छ।
नेपालमा सक्रिय मनसुनी प्रणाली र छिमेकी चीनको तिब्बत क्षेत्रमा निरन्तर भीषण वर्षा भइरहेकाले भोटेकोशी, त्रिशुली, चिलिमे लगायतका नदीमा पानीको बहाव बढ्न सक्ने भन्दै प्रशासनले सावधानी अपनाउन अनुरोध गरेको हो।
प्रशासनले विशेषगरी नदी किनारमा रहेका बस्ती, निर्माणाधीन आयोजना र सवारी साधन चलाउनेहरुलाई सतर्क रहन सुझाव दिएको छ। सम्भावित बाढी र पहिरोका कारण सडक संरचना प्रभावित हुन सक्ने भएकाले यात्रामा विशेष ध्यान दिन भनिएको छ।
धादिङ जिल्लासमेत त्रिशुली नदीको तटिय क्षेत्र परेका कारण यहाँका वासिन्दालाई पनि सजग रहन प्रशासनले आग्रह गरेको छ। नदी आसपासका बासिन्दालाई आवश्यक पूर्वतयारीसहित सुरक्षित स्थानमा बस्न वा सर्ने तयारी राख्न प्रशासनले भनेको छ।