राष्ट्रियसभामा ‘खानेपानी सेवा पहुँच’ सम्बन्धी संकल्प प्रस्ताव पारित

काठमाडौं, असार १२ । राष्ट्रियसभाको आजको बैठकले ‘खानेपानी सेवामा सबै नागरिकको पहुँच अभिवृद्धि गर्न र नेपालमै ब्लिचिङ पाउडर उद्योग स्थापना गर्नेसम्बन्धी’ संकल्प प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ।
सांसद जगप्रसाद शर्माले प्रस्तुत गरेको प्रस्तावमा उपभोक्ता समितिलाई कर तथा राजस्व छुट दिने, स्वदेशमै ब्लिचिङ पाउडर उद्योग स्थापना गर्ने, नगर विकास कोषको ऋणमा ब्याज छुट दिने र विद्युत् डिमान्ड शुल्क मिनाहा गर्ने विषय समेटिएको छ।
सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संकल्प प्रस्ताव कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिए। खानेपानी मन्त्री प्रदीप यादवले विषयलाई प्राथमिकतामा राखी कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् ।
प्रस्तावमा सांसदहरु कृष्णबहादुर रोकाया, गोपीबहादुर सार्की अछामी, भगवती न्यौपाने, मदनकुमारी शाह र मोहम्मद खालिद समर्थकका रूपमा थिए।
यसै बैठकमा समितिका सभापति तुलसाकुमारी दाहालले “केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८०” सम्बन्धी प्रतिवेदन पेस गर्नुभयो भने राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले विनियोजन विधेयक–२०८२ सम्बन्धी प्रतिनिधिसभाको सन्देश जानकारी गराए ।