म्याग्दीमा व्यावसायिक अरिङ्गाल पालन : स-साना गोला बने आम्दानीको ठूलो स्रोत



म्याग्दी,असार १२ । म्याग्दीको बेनी नगरपालिका–६ जामुनाखर्कका अशोक शाहीले पाखो बारी र घरको बार्दलीमा व्यावसायिक रूपमा अरिङ्गाल पालन गर्दै आएका छन् । राहुवडास्थित पाखोबारीको भित्तामा स–साना प्वाल बनाई फल्याकले ओत लगाएर उनले ११ वटा अरिङ्गालका गोला राखेका हुन् ।

शाहीका अनुसार, जंगलबाट ल्याइएका अरिङ्गालमध्ये करिब २५ प्रतिशत भागेर जान्छन् भने ७५ प्रतिशतले भने राखिएको ठाउँमा बस्ने गर्छन्। उनले गत वर्ष ३० किलो लार्भा उत्पादन गरेका थिए भने यस वर्ष २५ वटा गोला राखेर एक क्विन्टल लार्भा उत्पादन गर्ने लक्ष्य राखिएको छ। एक गोलाबाट प्रत्येक दुई महिनामा आठ किलोसम्म लार्भा निकाल्न सकिने शाहीले जानकारी दिए ।

अरिङ्गालका लार्भाबाट बनेका परिकार बेनीका होटलहरूमा लोकप्रिय छन्। काँचो लार्भा प्रतिकिलो ३५०० रुपैयाँ र भुटेको लार्भा प्रति प्लेट ६०० रुपैयाँमा बिक्री हुने गरेको बेनीका होटल व्यवसायी राजन लामाले बताए ।

शाही दम्पतीको यस प्रयासमा गीताको योजनालाई अशोकले साथ दिनुभएको हो। गीताज्यू पर्वतको जलजला गाउँपालिकामा लघु उद्यम विकास सहजकर्ता हुन।

जिल्ला डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख विष्णुप्रसाद अधिकारीले अरिङ्गाल पालन म्याग्दीमा नयाँ वनजन्य उद्यमको रूपमा विकसित भइरहेको बताए। उनले लार्भाका लागि गोला पोलेर वंश नष्ट गर्नुको सट्टा पालन गर्दा संरक्षणसँगै आम्दानीको स्रोत बन्ने उल्लेख गरे। तर, जोखिमयुक्त भएकाले सावधानी अपनाउन आवश्यक रहेको चेतावनी पनि दिए ।

प्रतिक्रिया दिनुहोस्