पञ्चकन्याका जनप्रतिनिधि र सरोकारवालाको पनौतीमा बालमैत्री शासन सम्बन्धी अध्ययन अवलोकन

नुवाकोट,असार १२ — नुवाकोटको पञ्चकन्या गाउँपालिकाले बालमैत्री स्थानीय शासनको कार्यान्वयन तथा घोषणा प्रक्रिया सम्बन्धी अनुभव आदानप्रदान र अध्ययन अवलोकन भ्रमण सम्पन्न गरेको छ।
भ्रमणका लागि गाउँपालिकाका उपाध्यक्ष विमला के.सी., सबै वडाका वडा अध्यक्षहरु, कार्यपालिका तथा गाउँसभा सदस्यहरु, गाउँपालिकाका कर्मचारी, वडा सचिवहरु, रुडेक नेपालका अध्यक्ष र प्रतिनिधिहरु, साथै पञ्चकन्या गाउँपालिका बाल सञ्जालका प्रतिनिधिहरुको सहभागिता रहेको थियो।
उक्त भ्रमण कार्यक्रम काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका वडा नं. ५ मा सम्पन्न भएको थियो। कार्यक्रममा पनौती वडा नं. ५ का वडा अध्यक्ष, पदाधिकारीहरु, बालमैत्री सहजकर्ता तथा बाल सञ्जालका पदाधिकारीहरुको समेत उपस्थिति थियो।
अनुभव आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रममार्फत सहभागीहरुले बालमैत्री स्थानीय शासन कार्यान्वयनका अभ्यास, चुनौती र उपलब्धिबारे जानकारी लिएका थिए। कार्यक्रममा सहभागीहरुले बालमैत्री नीति र योजनालाई अझ प्रभावकारी बनाउन यस्ता अध्ययन भ्रमण फलदायी भएको बताएका छन्।