दुप्चेश्वरमा एक युवा खोलाले बगाएपछि बेपत्ता, भेटाउनेलाई २५ हजार पुरस्कार

नुवाकोट, असार १२ । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–७ कुतुङका २६ वर्षीय नोनो शेर्पा असार ३ गते तादी खोलामा नुहाउने क्रममा खोलाले बगाएपछि अहिलेसम्म बेपत्ता भएका छन्।
स्थानीयवासी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा खोजी कार्य जारी राखिएको भए पनि एक साता बित्दा पनि उनी फेला नपरेपछि गाउँपालिकाले विशेष सूचना जारी गरेको छ।
गाउँपालिकाले सोमबार सूचना प्रकाशित गर्दै शेर्पाको अवस्थाबारे पहिलोपटक जानकारी दिने व्यक्तिलाई नगद २५ हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ।
सूचनामा भनिएको छ, “फेला परेको पहिलो सूचना दिनुहुने महानुभावलाई गाउँपालिकाको तर्फबाट रु २५,००० (अक्षरूपी पच्चीस हजार) उपलब्ध गराइने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको हो।”