विपदको सूचना सिधै फोनबाट दिन समितिको निर्देशन

काठमाडौं,असार १२ । प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले वर्षायाममा बाढी, पहिरो, डुबान जस्ता मौसमजन्य उच्च जोखिम क्षेत्रहरू पहिचान गरी पूर्वसूचना प्रणाली सुदृढिकरण गर्न सरकारलाई निर्देशन दिएको छ ।
समितिले विपद्को पूर्वसूचनाको लागि हाल प्रयोग गर्दै आएको एसएमएस प्रणाली भरपर्दो नभएको भन्दै फोनमार्फत बोलेर नै सूचना दिने प्रणाली लागु गर्न निर्देशन दिएको हो ।
बैठकमा गृहमन्त्री रमेश लेखकले मनसुनको समय भएको र जुनसुकैबेला पनि विपद् आउनसक्छ भन्ने आँकलनका साथ सरकार पूर्वतयारी र प्रतिकार्यका लागि तयारी अवस्थामा रहेको समितिलाई जानकारी दिए ।
बैठकमा उनले आफ्नो मन्त्रालय मनसुनको समयमा बाढी, पहिरो, डुबान र सडक अवरोध हुनसक्ने सम्भावित विपद्को सुरक्षा निकायमार्फत पूर्वतयारी अवस्थामा रहेको बताए ।
उद्धारका लागि हेलिकप्टरको समेत व्यवस्था गरिएको भनाइ गृहमन्त्री लेखकको थियो । समितिको बैठकले जोखिम क्षेत्रमा बसोवास गर्ने मानिसहरूको स्थानान्तरण, उद्धार तथा राहत व्यवस्थापनमा समन्वय र जनचेतना अभिवृद्धि गर्न स्थानीय र प्रदेश तहसँग सहकार्य गरी प्रभावकारी कार्ययोजना बनाएर तत्काल कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो ।
त्यस्तै समितिले विगतका वर्षहरूमा भएका विपद्को मूल्याङ्कन गरी सिकाइका आधारमा प्रभावकारी जोखिम नियन्त्रणका उपायहरू लागु गर्न गृह र रक्षा मन्त्रालयलाई निर्देशित गरिएको छ ।