चिनीलाई चामल भनेर तस्करी : ४ जनाविरुद्ध मुद्दा, ७ करोड बिगो र जरिवाना माग



पश्चिम नवलपरासी, असार १३। चिनीलाई चामल भनेर बिल बनाइ बिक्री वितरणमा संलग्न पश्चिम नवलपरासीका एकजना सहित चार जनाविरुद्ध राजश्व अनुसन्धान कार्यालय बुटवलले उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा मुद्दा दायर गरेको छ।

नवलपरासीको रामग्राम नगरपालिका–८ मा रहेको नवज्योति ट्रेडर्सले करिब ३ करोड ४७ लाख रुपैयाँ बराबरको चिनीलाई चामल उल्लेख गरी विभिन्न ठाउँमा पठाउँदै आएको भेटिएपछि सञ्चालक सौरभ यादव विरुद्ध मुद्दा दायर गरिएको हो।

पछिल्लो समय सो ट्रेडर्सले सुर्खेतस्थित आगवन स्टोर्स एन्ड अर्डर सप्लायर्सका सञ्चालक पुष्पा शर्मालाई ११ लाख रुपैयाँभन्दा बढीको चिनी चामलको बिल बनाइ पठाएको अवस्थामा ट्रकसहित पक्राउ परेपछि सो अवैध कारोबार सार्वजनिक भएको थियो।

राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत विवेक घिमिरेका अनुसार अनुसन्धानका क्रममा तीनपटकसम्म चामलको बिल बनाएर चिनी पठाएको प्रमाण फेला परेको छ। त्यसैगरी मूल्य अभिवृद्धि करमा दर्ता नगरी भन्सार चोरी गरि भारतबाट ल्याइएको चिनी कारोबार गरिएको खुलेको छ।

यस आधारमा सञ्चालक यादवलाई ३ करोड ४७ लाख ६२ हजार बिगो कायम गरी शतप्रतिशत जरिवाना सहित ६ करोड ९५ लाख २५ हजार रुपैयाँ बराबरको जरिवाना र कैद सजाय माग गर्दै मुद्दा दायर गरिएको छ।

त्यस्तै, पुष्पा शर्मा विरुद्ध ११ लाख ७१ हजार बिगो कायम गरी सोही अनुसार जरिवानासहित मुद्दा दायर गरिएको छ। यस्तै, अवैध सामान खरिदमा प्रत्यक्ष संलग्न रहेको आरोपमा हिक्मतप्रसाद आचार्य विरुद्ध पनि पुष्पालाई लाग्ने सजायको आधा सजाय माग गरिएको अनुसन्धान अधिकारी घिमिरेले बताए।

ट्रक चालक विनोद थापा भने ५० हजार धरौटीमा छुटेका छन्।स्थानीयका अनुसार भारतबाट नवलपरासीको सीमावर्ती क्षेत्र हुँदै चिनीको तस्करी हुँदै आएको र विभिन्न गोदाममा भण्डारण गरी नक्कली बिल बनाई बिक्री गर्ने कार्य चलिरहेको छ।

प्रतिक्रिया दिनुहोस्