विद्यालय शिक्षा विधेयकमाथि प्रतिनिधिसभा समितिको अन्तिम छलफल सुरु



काठमाडौं, असार १३ –प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षासम्बन्धी विधेयकमाथि अन्तिम चरणको छलफल सुरु गरेको छ। असार १५ भित्रमा शिक्षा ऐन ल्याउने सहमति अनुसार सरकारले शिक्षक महासङ्घसँग गरेको प्रतिबद्धता कार्यान्वयन गर्ने दबाबमा समितिले बिहीबार अबेरसम्म छलफल अघि बढाएको हो।

छलफलमा मुख्य रूपमा निजी लगानीमा सञ्चालित विद्यालयहरूको व्यवस्थापन, अस्थायी तथा राहत शिक्षकलाई आन्तरिक प्रतिस्पर्धामार्फत स्थायी बनाउने, बालविकास सहजकर्ता तथा विद्यालय कर्मचारीलाई दरबन्दीमा समेट्ने जस्ता विषयमा समिति सदस्यहरूले धारणा राखेका थिए।

यसअघि समितिले विधेयकका विवादित बुँदामा सहमति जुटाउन छविलाल विश्वकर्माको संयोजकत्वमा उपसमिति गठन गरेको थियो। उपसमितिले केही विषय बाहेक बाँकीमा सहमति जुटाएर मूल समितिमा प्रतिवेदन बुझाएको थियो। तर, मन्त्रालयले सो सहमतिविपरीत फरक प्रस्तावसहित नयाँ प्रतिवेदन पेस गरेपछि छलफल अन्योलमा परेको थियो।

बिहीबार बसेको बैठकमा समिति सदस्यहरूबीच निजी विद्यालयलाई निश्चित समयसीमा तोकेर गुठीमा रूपान्तरण गर्ने विषयमा पनि मतभेद देखिएको छ। सुमना श्रेष्ठ, देवेन्द्र पौडेल, ज्ञानु बस्नेत सुवेदी लगायतले गुठीमा जानुपर्ने व्यवस्था विधेयकमा समावेश गर्नुपर्ने धारणा राखेका थिए भने छविलाल विश्वकर्मा, श्याम घिमिरे, सरिता भुसाल, दीपा शर्मा लगायतले यस्तो व्यवस्था व्यवहारिक नहुने तर्क गरेका थिए।

समितिले सम्भव भएसम्म शुक्रबारसम्ममा विधेयकलाई सर्वसम्मतिबाट पारित गर्ने तयारी गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्