नुवाकोटको ककनीमा खोलाले बगाउँदा एक महिला बेपत्ता



नुवाकोट,असार १३ — नुवाकोटको ककनी गाउँपालिका–१ भसीबुस्थित बिमचना खोलामा आएको बाढीले एक महिला बेपत्ता भएकी छन्।

अविरल वर्षाका कारण खोलामा पानीको बहाव बढ्दा ३२ वर्षीया कमला बलामी बगेर बेपत्ता भएको सशस्त्र प्रहरी बलका डिएसपी तथा सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । उनका अनुसार बेपत्ता बलामीको खोजीका लागि सशस्त्र प्रहरीको टोली खटिएको छ।

घटनास्थल नजिकै रहेको तीनवटा गोठ समेत बाढीले बगाएको छ। ती गोठमध्ये एकमा रहेका अशोक बलामी घाइते भएका थिए। उनलाई उद्धार गरी उपचारका लागि काठमाडौँ पठाइएको छ।

घटनाको जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल युएन तालिम शिक्षालय ककनी, नम्बर १९ गुल्म नुवाकोट र सुरक्षा वेश बञ्चरेबाट ६५ जना सुरक्षाकर्मी उद्धारका लागि परिचालन गरिएको डिएसपी थापाले जानकारी दिए ।

बाढीले गोठसँगै पशुचौपाया तथा अन्य सामग्री पनि बगाएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्