प्रधानमन्त्री ओली स्पेन प्रस्थान गर्दै

काठमाडौं, असार १४ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’मा सहभागी हुन आज स्पेन प्रस्थान गर्दै छन्।
स्पेनको सेभिल्लामा आयोजना हुने सम्मेलनमा प्रधानमन्त्री ओलीले नेपालको तर्फबाट अल्पविकसित, साना र टापु मुलुकको आवाजलाई अगुवाइ गर्दै वकालत गर्नेछन्। सम्मेलनमा सम्पन्न मुलुकले गरिब र साना मुलुकका लागि गरेका लगानी प्रतिबद्धताको कार्यान्वयनबारे पनि छलफल हुनेछ।
भ्रमणका क्रममा ओलीले सम्मेलनलाई सम्बोधन गर्नुका साथै स्पेनका राजा फिलिप द्वितीय, प्रधानमन्त्री पेड्रो सान्चेज र अन्य राष्ट्र नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ।
प्रधानमन्त्री ओलीको टोली आज साँझ ६ बजे कतारको दोहा हुँदै मेड्रिड प्रस्थान गर्नेछ र असार २० गते साँझ फर्कने कार्यक्रम छ। भ्रमणले नेपालमा विकसित मुलुकबाट लगानी वृद्धि र युरोपेली मुलुकका पर्यटक आकर्षणमा योगदान पुर्याउने विश्वास गरिएको छ।
२१ सदस्यीय प्रतिनिधिमण्डलमा प्रधानमन्त्रीकी पत्नी राधिका शाक्य, मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सचिव अमृतबहादुर राई, अर्थ सचिव घनश्याम उपाध्यायलगायत सहभागी छन्।