प्रचण्डको सहभागिताबारे भ्रम फैलाउने प्रयासप्रति माओवादी केन्द्र सुर्यगढीको खण्डन



नुवाकोट, जेठ १८ – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सूर्यगढी गाउँपालिका समितिले एक विज्ञप्ति जारी गर्दै हालै सम्पन्न हीरक जयन्ती समारोहबारे केही सामाजिक सञ्जाल र सञ्चार माध्यमहरूमा फैलाइएको भ्रामक प्रचारप्रति कडा आपत्ति जनाएको छ।

जेठ १७ गते श्री वागेश्वरी माध्यमिक विद्यालय, सूर्यगढी–३ मा आयोजित उक्त समारोहमा पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रमुख अतिथि भएर सहभागी भएका थिए। कार्यक्रममा शिक्षा, विकास र जनसंवादका विषयमा प्रचण्डले बोलेका मन्तव्यहरूलाई केही व्यक्तिहरूले तोडमोड गरेर प्रचार गरेको पार्टीको दाबी छ।

विज्ञप्तिमा भनिएको छ, “कार्यक्रमको सहकार्य, सहभागिता र उद्देश्यप्रति जनस्तरबाट व्यापक समर्थन प्राप्त भएको अवस्थामा केही व्यक्तिहरू र समूहहरूद्वारा पूर्वाग्रही ढंगमा अध्यक्ष प्रचण्डको अभिव्यक्तिलाई तोडमोड गरी भ्रम सिर्जना गर्ने प्रयास गरिएको छ।”

साथै, पार्टीले आफ्नो पालिकाको सक्रियता र स्थानीय जनस्तरको उत्साहजनक सहभागितालाई बेवास्ता गर्दै गरिएको एकपक्षीय टिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। कार्यक्रममा सहभागी जनप्रतिनिधि, शिक्षक, बुद्धिजीवी, विद्यार्थी र अभिभावकहरूको उपस्थिति तथा सहभागिता कार्यक्रमको ऐतिहासिक महत्वलाई प्रतिबिम्बित गर्ने उल्लेख विज्ञप्तिमा गरिएको छ।

पार्टीका पालिका अध्यक्ष पुरुषोत्तम अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “समारोहबारे असत्य र भ्रामक समाचार सम्प्रेषण गर्नु गम्भीर षड्यन्त्रको हिस्सा हो। जनतासँग प्रत्यक्ष संवाद गर्न तयार छौँ। तथ्यहीन प्रचार बन्द गर्न चेतावनी दिन्छौँ।”

माओवादी केन्द्र सूर्यगढी गाउँपालिका समितिले यस्ता भ्रमपूर्ण गतिविधिहरूबाट जनमत गुमाउने डरले केही समूहहरू सक्रिय भएको उल्लेख गर्दै, जनस्तरमा स्पष्ट सन्देश दिने उद्देश्यले विज्ञप्ति जारी गरिएको स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस्