सार्वजनिक सवारी साधनहरू अनिश्चितकालका लागि बन्द, नुवाकोट–रसुवाका यात्रुहरू समेत प्रभावित



नुवाकोट,जेठ १८ — सार्वजनिक यातायात क्षेत्रमा सुधार र व्यवसायी, मजदुरको माग सम्बोधनको माग गर्दै देशभरका यातायात व्यवसायी, मजदुर संघ–संगठनहरूले संयुक्तरूपमा असार १९ गतेदेखि अनिश्चितकालीन आम हड्तालको घोषणा गरेका छन्। त्यसकै प्रभावस्वरूप टिमुरे बस तथा मिनिबस यातायात प्रा.लि. र नमस्ते पासाङल्हामु यातायात प्रा.लि.ले पनि सम्पूर्ण यातायात सेवा बन्द गर्ने घोषणा गरेका छन्।

दुवै यातायात संस्थाले छुट्टाछुट्टै सूचना प्रकाशित गर्दै सरकारसँग पटक–पटक समन्वय गर्दा पनि माग सुनुवाइ नभएको गुनासो गरेका छन्। उनीहरूले गण्डकी प्रदेश सरकारले नियमावली नै जारी गरेर राइड सेयरिङका नाममा नीजि सवारी साधनलाई पनि यात्रु ओसारपसारमा प्रयोग गर्न दिएको भन्दै असन्तोषस्वरूप अनिश्चितकालीन बन्दमा जाने निर्णय लिएको जनाएका छन्।

यस आन्दोलनको प्रत्यक्ष प्रभाव नुवाकोट र रसुवा जिल्लाका जनतालाई समेत पर्नेछ। विशेष गरी छहरे–टोखा, त्रिशुली–ककनी–बालाजु, साथै त्रिशुली–गल्छी हुँदै काठमाडौं आवतजावत गर्ने दैनिक यात्रुहरू ठूलो मारमा पर्नेछन्। यी मुख्य सडकमार्गहरूबाट राजधानीसँग जोडिएका दुर्गम क्षेत्रका सर्वसाधारण, विद्यार्थी, बिरामी तथा कर्मचारीहरू सवारी सुविधा नपाएर समस्यामा पर्ने निश्चितप्रायः देखिएको छ।

यातायात सेवा अवरुद्ध हुँदा स्थानीय जनजीवन प्रभावित हुने अनुमान गरिएको छ। यात्रुवाहक संस्थाहरूले यात्रुवर्गलाई पर्न सक्ने असुविधाप्रति क्षमा माग्दै आन्दोलनमा सहकार्य गर्न समेत अनुरोध गरेका छन्।

प्रतिक्रिया दिनुहोस्