यातायात व्यवसायीको आन्दोलनले देशभर सार्वजनिक यातायात ठप्प, नुवाकोटमा जनजीवन प्रभावित



नुवाकोट, जेठ १९ – गण्डकी प्रदेश सरकारले ल्याएको ‘राइड सेयरिङ’ सम्बन्धी नियमावली खारेजीको माग गर्दै सार्वजनिक यातायात व्यवसायीहरूले आज (सोमबार) देखि देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका छन्। यस आन्दोलनको प्रभाव नुवाकोट लगायत देशभरका जिल्लामा समेत देखिएको छ।

नुवाकोट प्रवेशको छोटो तथा व्यस्त मार्ग मानिने छहरे–टोखा सडकखण्डमा समेत भाडाका विद्युतीय सवारी साधन र ठूला गाडीहरू सञ्चालनमा आएका छैनन्। गुर्जेस्थित अस्थायी प्रहरी पोस्टका अनुसार, बिहानैदेखि यो मार्गमा सवारी आवागमन ठप्प छ यद्यपि निजि सवारीसाधन भने चलेका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय, नुवाकोटका अनुसार विदुर हुँदै गल्छी र रानीपौवा–बालाजु तर्फ चल्ने कुनै पनि सार्वजनिक सवारीसाधन सञ्चालनमा आएको छैन। यातायात बन्दका कारण नुवाकोट–रसुवा चल्ने सवारी पनि प्रभावित भएका छन्।

सार्वजनिक यातायात नचलेपछि सर्वसाधारण अत्यन्तै मारमा परेका छन्। विद्यालय जाने विद्यार्थी, अस्पताल धाउने बिरामी तथा दैनिक यात्रा गर्ने यात्रुहरू विशेष गरी समस्यामा परेका हुन् ।

यातायात व्यवसायीहरूको आन्दोलन कति दिनसम्म चल्ने भन्ने अझै स्पष्ट नभएपनि यसले दैनिक जनजीवनमा गम्भीर प्रभाव पारेको सर्वसाधारणले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्