युक्रेनद्वारा रुस माथि हालसम्मकै ठूलो ड्रोन आक्रमण

काठमाडौं,जेठ १९ । युक्रेनले रूसमाथि हालसम्मकै सबैभन्दा ठूलो लामो दूरीको आक्रमण सफलतापूर्वक सम्पन्न गरेको दाबी गरेको छ ।
स्पाइडर वेब नाम दिइएको सो अपरेशन अन्तर्गत युक्रेनी सुरक्षा सेवाले १ सय १७ वटा ड्रोन प्रयोग गरी चार रूसी सैन्य हवाई आधार शिविरहरूमा रहेका ४० युद्धक विमानहरूलाई लक्ष्य बनाएको छ ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले कारबाहीमा रूसका ३४ प्रतिशत रणनीतिक क्रूज मिसाइल वाहकहरूमा क्षति पुर्याइएको बताए । युक्रेनी सुरक्षा सेवाले बिबिसीलाई दिएको जानकारी अनुसार युक्रेनलाई यस आक्रमणको तयारीका लागि डेढ वर्ष लागेको थियो ।
रूसी अधिकारीहरूले युक्रेनी आक्रमण भएको स्वीकार गर्दै पाँच क्षेत्रहरूमा आक्रमण भएको बताएका छन् । रुसले युक्रेनी आक्रमणलाई आतंकवादी गतिविधिको संज्ञा दिएको छ ।
रूसी पक्षले आक्रमणले पुर्याएको क्षतिको विस्तृत विवरण भने दिएको छैन । यसको जवाफमा, रूसले पनि युक्रेनमाथि ठूलो मात्रामा ड्रोन र मिसाइल हमला गरेको युक्रेनी अधिकारीहरूले जनाएका छन् ।
यसैबीच टर्कीको इस्तानबुलमा आजका लागि तय भएको रुस र युक्रेनबीचको दोस्रो चरणको शान्तिवार्ताका लागि दुबै पक्षका अधिकारीहरु त्यसतर्फ लागेका छन् ।