पूर्व राष्ट्रपति भण्डारी स्वदेश फिर्ता



काठमाडौं,जेठ १९ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमण पूरा गरी सोमवार स्वदेश फिर्ता भएकी छिन्  ।

उनी सोमवार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै स्वदेश फर्किएका हुन्  । उनी जेठ १ गते नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै चीन भ्रमणमा गएकी थिइन । उनीसँगै नेकपा (एमाले) विदेश विभाग प्रमुख रघुवीर महासेठ, उद्योग मन्त्री दामोदर भण्डारी लगायत रहेका थिए  ।

पूर्व राष्ट्रपति भण्डारीको चीन भ्रमण फलदायी र उपलब्धिमूलक रहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले बताए । मन्त्री भण्डारीका अनुसार भ्रमणका क्रममा पूर्व राष्ट्रपति भण्डारीले चिनियाँ उपराष्ट्रपति हान चेङ, सीपीसीका विदेश विभाग प्रमुख लिउ जियानचाओ लगायत उच्चपदस्थ अधिकारीहरूसँग भेटवार्ता गरेका थिए । भ्रमणका क्रममा चीन–नेपालबिचको द्विपक्षीय सहयोग आदानप्रदान, संस्कृति सम्बन्ध, अर्थ कूटनीति लगायतका विषयमा छलफल भएको मन्त्री भण्डारीले बताए  । उनले चीन–नेपालबिचमा विगतमा भएका समझदारी एवं सम्झौता कार्यान्वयनका विषयमा पनि छलफल भएको तथा चिनियाँ पक्षले विगतमा भएका समझदारी कार्यान्वयनका लागि प्रतिबद्धता व्यक्त गर्नुभयो जानकारी दिए ।

मन्त्री भण्डारीले भने, ‘सम्माननीय पूर्व राष्ट्रपतिले सभामा मुख्य वक्ताको रूपमा सम्बोधन गर्नुभयो । हाम्रा साझा भावहरू अन्तर्राष्ट्रिय समुदायमा सम्प्रेषण गर्ने एउटा महत्त्वपूर्ण फोरमको रूपमा रह्यो । त्यसै गरी चिनियाँ पक्षबाट सम्माननीय पूर्व राष्ट्रपतिलाई न्यानो आथित्यता सहितको उच्चस्तरको भेटवार्ता पनि भयो । चीनका उपराष्ट्रपतिज्यू, चिनियाँ कङ्ग्रेसका उपाध्यक्ष, चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभागका विभाग प्रमुख  लगायत उच्चपदस्थ अधिकारीहरूसँग भेटवार्ताहरु भयो । खास गरी नेपाल–चीनबिचको पुरानो सम्बन्ध र मित्रतालाई अझ सुदृढ गर्ने र कतिपय हाम्रा दुई देशबिचका साझा मान्यताहरू, समझदारी र सम्झौताहरू समेत पुर्नताजगि गर्ने भ्रमणका रूपमा रह्यो । यसले हाम्रा सांस्कृतिक सम्बन्ध, आर्थिक कूटनीतिहरूका विषयमा समेत छलफल आदान प्रदान भयो । विगतमा भएका सम्झौताहरू कार्यान्वयन गर्ने विषयमा समेत प्रतिबद्धता व्यक्त भएको छ ।’

प्रतिक्रिया दिनुहोस्