नेपालले रोमाञ्चक जित हात पार्‍यो, स्कटल्याण्डमाथि १ विकेटको ऐतिहासिक जित



काठमाडौं,जेठ २०– तल्लोक्रमका ब्याटर करण केसीको विष्फोटक ब्याटिङको सहयोगमा आइसिसी विश्वकप लिग टु अन्तर्गतको चौथो राउण्डको पहिलो खेलमा घरेलु टोली स्कटल्याण्डमाथि नेपालले रोमाञ्चक जित निकालेको छ ।

स्कटल्याण्डको फोर्थहिल क्रिकेट मैदानमा भएको खेलमा घरेलु टोलीमाथि नेपालले १ विकेटको रोमाञ्चक जित हात पार्यो । २ सय ९७ रनको लक्ष्य नेपालले १ बल बाँकी रहँदा ९ विकेट गुमाएर पूरा गर्यो ।

अन्तिम बलमा नेपालको जितका लागि १ रन आवश्यक रहेको थियो । अन्तिम बल मार्क वाटले वाइड फालेपछि नेपालले रोमाञ्चक जित हासिल गरेको हो । करणले सिंगल लिन कुद्दा विकेटकिपरले रिजनलाई रनआउट गरेपनि अम्पायरले वाइड दिएपछि खेल नेपालले जितेको हो ।

नेपालको जितमा करण केसीले ४१ बलमा ३ चौका र ४ छक्काको सहयोगमा अविजित ६५ रन जोडे । त्यसअघि सुरुवातमै ओपनर कुशल भुर्तेलले उत्कृष्ट अर्धशतक बनाएर राम्रो सुरुवात दिलाए । कुशलले ४४ बलमा ११ चौकाको सहयोगमा ५३ रन जोडे ।

कुशलले अर्का ओपनर आसिफ शेखसँग मिलेर पहिलो विकेटका लागि ७२ रनको साझेदारी गरेका थिए । आसिफ ३३ बलमा २ चौकाको सहयोगमा २० रनमा आउट भए ।

गुलशन कुमार झा ३० बलमा ३ चौका र ३ छक्काको सहयोगमा ४२ रनमा आउट भए । भीम सार्की ४८ बलमा ३ चौकाको सहयोगमा ४० तथा कप्तान रोहित कुमार पौडेल ५६ बलमा ३७ रनमा आउट भए ।

१ सय ५२ रनमा २ विकेट गुमाएको नेपालले थप रन जोड्दा विकेट गुमायो । स्कटल्याण्डका लागि ब्रेण्डन मक्कमलेनले ३, माइकल लिस्क र ज्याक जार्भिसले समान २ तथा जसपर डेभिडसनले १ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ९६ रनको योगफल तयार गर्यो ।

स्कटल्याण्डका लागि चार्ल्स टिएरले सर्वाधिक ८० रन जोडे । उनले ७२ बलमा १२ चौका र १ छक्का प्रहार गरे । नेपालका तीव्र गतिका बलर करण केसीले ८० रनमा खेलिरहेका उनलाई विकेटकिपर आसिफ शेखबाट क्याच आउट गराए ।

फेन्ली म्याक्रिथले ६७ बलमा ३ चौका र १ छक्काको सहयोगमा ५५ रनको योगदान दिए । उनी अन्तिम ओभरमा सोमपाल कामीको बलमा आउट भएका थिए ।

कप्तान रिची बेरिङ्टन ४६ बलमा ३ चौका र २ छक्काको सहयोगमा ४० रनमा आउट भए । कप्तान बेरिङ्टन करणकै बलमा विकेट किपर आसिफबाट समातिए ।

म्याथ्यु क्रस ५६ बलमा ३ चौकाको सहयोगमा ३९ रनमा आउट भए । क्रस सन्दीप लामिछानेको बलमा कुशल भुर्तेलबाट क्याच आउट भए । माइकल लिस्क १५ बलमा १८ रन जोड्दै आउट भए । लिस्क रिजन ढकालको बलमा भीम सार्कीबाट क्याच आउट भए ।

ब्रेण्डन मक्कमुलनले ३१ बलमा २ चौकाको सहयोगमा १९ रन जोडे । नेपालका तीव्र गतिका बलर सोमपाल कामीले ३१ बलमा १९ रनमा खेलिरहेका मक्कमुलनलाई बासिर अहमदबाट क्याच गराएका थिए ।

नेपालले पहिलो विकेटका रुपमा स्कटल्याण्डले ओपनर जर्ज मुन्सीलाई आउट गराएका थिए । मुन्सी रिजन ढकालको बलमा १२ रनमा आउट भएका थिए । मुन्सी लामो सटको प्रयासमा सोमपाल कामीबाट समातिएका थिए ।

नेपालका लागि सोमपाल कामी, करण केसी र रिजन ढकालले समान २ तथा सन्दीप लामिछानेले १ विकेट लिए ।

जितसँगै ८ टोली सहभागी लिग टु मा नेपाल १३ खेलमा ८ अंकका साथ सातौं स्थानमा छ । पराजित स्कटल्याण्ड १७ खेलमा २० अंकका साथ चौथो स्थानमा छ ।

विश्वकप लिग टु ओडिआई विश्वकप २०२७ को छनोट सिरिज हो । लिगको अन्तिममा शीर्ष ४ मा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा सिधै स्थान बनाउने छ । पुछारमा रहने ४ टोलीले भने विश्वकप छनोट प्लेअफ खेल्नुपर्ने छ ।

यस त्रिकोणात्मक सिरिजमा नेपाल र स्कटल्याण्ड अलावा नेदरल्याण्ड्सको समेत सहभागीता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्