नुवाकोटको तादी गाउँपालिकामा खरानिटार बृहत् खानेपानी आयोजनाको स्थलगत अनुगमन सम्पन्न



नुवाकोट,जेठ २१ — जिल्लाको तादी गाउँपालिकाको खरानिटारमा सञ्चालित बृहत् खानेपानी आयोजनाको स्थलगत अनुगमन बुधबार सम्पन्न भएको छ। अनुगमन कार्य तादी गाउँपालिकाको अनुगमन समितिका संयोजक तथा उपाध्यक्ष सन्जु प्याकुरेलको नेतृत्वमा सम्पन्न भएको हो।

अनुगमनमा प्रमुख प्रशासकीय अधिकृत ध्रुब खनाल, प्रशासन प्रमुख विरोचन खनाल, गाउँपालिकाका प्राविधिक कर्मचारीहरू तथा उपभोक्ता समितिका पदाधिकारीहरूको समेत सक्रिय उपस्थिति रहेको थियो।

कार्यक्रमका क्रममा आयोजनाको प्रगति, निर्माण गुणस्तर, प्राविधिक पक्ष लगायतका विभिन्न विषयमा स्थलगत अवलोकन गरिनुका साथै आयोजनाको समयमै सम्पन्नता र दिगोपनाको सुनिश्चितताका लागि आवश्यक निर्देशनहरू प्रदान गरिएको थियो।

यस आयोजनाको पूर्ण सम्पन्नतापछि लक्षित क्षेत्रका आम उपभोक्ताहरूले प्रत्यक्ष रूपमा सुरक्षित र पर्याप्त खानेपानी सेवा प्राप्त गर्नेछन्। साथै, आयोजनाको मूल उद्देश्य—स्थानीय बासिन्दाको जीवनस्तर उकास्नु र दिगो विकासमा टेवा पुर्‍याउनु—समेत पूरा हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्