नुवाकोटको तारकेश्वरमा चिनियाँ भाषा स्कुलको शिलान्यास

नुवाकोट,जेठ २१ — चिनियाँ भाषा र संस्कृति सिकाउने उद्देश्यले नुवाकोटको तारकेश्वर गाउँपालिका–४ मा चिनियाँ भाषा विद्यालयको शिलान्यास गरिएको छ। संघाई कल्चर मिडिया प्रालि र इन्टरनेशनल स्काउट भोलेन्टियर्स ग्रुपको संयुक्त आयोजनामा बुधबार शिलान्यास गरिएको हो।
इन्टरनेशनल स्काउट भोलेन्टियर्स ग्रुपका अध्यक्ष अजित खड्काले विद्यालयलाई भाषा सिकाउने मात्रै नभई सामाजिक र सांस्कृतिक अन्तरक्रियाको माध्यम बनाउने बताए। संघाई हाइसान कल्चर मिडिया प्रालिकी प्रतिनिधि हुआङ वेन् छिले तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने जानकारी दिँदै नेपालमा १० शिक्षण संस्था स्थापना भइसकेको र थप ९ वटा खोल्ने योजना रहेको बताइन्।
कार्यक्रममा ओभरसिज चाइनिज एसोसिएसन नेपाल अध्यक्ष झिङ झ्याओ दोङले नेपाल–चीन मित्रता ऐतिहासिक रहेको बताउँदै यस्ता कार्यक्रमले सम्बन्ध अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरे। कार्यक्रममा तारकेश्वर गाउँपालिका अध्यक्ष शिव प्रसाद अधिकारीसहित विभिन्न व्यक्तिहरुको उपस्थिति थियो।