नुवाकोट र धादिङको विद्रोही इतिहासलाई समेट्ने पुस्तक सार्वजनिक

काठमाडौं, जेठ २१ – लेखक एवं साहित्यकार श्रीराम श्रेष्ठद्वारा लिखित अनुसन्धानात्मक कृति ‘खनियाबास विद्रोह’ सार्वजनिक गरिएको छ। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमका बीच पुस्तकको लोकार्पण गरेका हुन्।
नेपाली लेखक संघ नुवाकोटद्वारा प्रकाशित सो पुस्तक तत्कालीन पश्चिम १ नम्बर क्षेत्रअन्तर्गत पर्ने खनियाबासको सत्य ऐतिहासिक घटनामा आधारित छ, जुन अहिलेको धादिङ जिल्लामा पर्छ तर ऐतिहासिक र सामाजिक रूपमा नुवाकोटलाई समेत प्रत्यक्ष रूपमा छोएको विषयवस्तु हो।
लेखक श्रेष्ठका अनुसार पुस्तकमा वर्णित ‘खनियाबास विद्रोह’ नुवाकोट र त्यस आसपासको राजनीतिक, सामाजिक पृष्ठभूमिलाई उजागर गर्ने प्रयास हो। यो कृति श्रेष्ठको २८औँ प्रकाशित पुस्तक हो।
वि.सं. २०३१ सालमा नुवाकोटको विदुरमा जन्मिएका श्रेष्ठका नियात्रा, जीवनी, कविता, समीक्षा तथा विभिन्न अनुसन्धानात्मक कृतिहरू प्रकाशित छन्। साथै, उनले जापनिज साहित्यका हाइकु, तान्का, कटौता, सेदोका, डोडोइट्सु, मन्डो र कोरियन साहित्यका सिजो विधामा समेत कलम चलाएका छन्।
कार्यक्रममा लेखक श्रेष्ठले पुस्तक लेख्ने क्रममा सङ्कलन गरेका ऐतिहासिक तथ्य र अनुभवहरू प्रस्तुत गरे। कार्यक्रममा उपस्थित साहित्यकार, राजनीतिकर्मी तथा पाठकहरूले उक्त कृतिलाई नुवाकोट र धादिङ क्षेत्रको जनआन्दोलन तथा प्रतिरोध आन्दोलनको महत्वपूर्ण दस्तावेजको रूपमा मूल्याङ्कन गरेका थिए।