नुवाकोटको लिखु गाउँपालिकामा सार्वजनिक सुनुवाइ सम्पन्न

नुवाकोट, जेठ २२ । जिल्लाको लिखु गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ मा सम्पन्न गरेका विकास निर्माण, सेवा प्रवाह तथा योजना कार्यान्वयनका गतिविधिहरूको सार्वजनिक सुनुवाइ सम्पन्न गरेको छ। गाउँपालिकाको वडा नं १ स्थित पहरेघाटमा आयोजना गरिएको उक्त कार्यक्रममा स्थानीय नागरिक, जनप्रतिनिधि तथा सम्बन्धित कर्मचारीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा गाउँपालिकाको केन्द्र तथा सबै ६ वटै वडा कार्यालयहरूले हालसम्मको प्रगति विवरण, विनियोजित योजना तथा कार्यक्रमहरूको कार्यान्वयन स्थिति, राजस्व संकलन र सेवा प्रवाहका विवरणहरू सार्वजनिक रूपमा प्रस्तुत गरेका थिए।
सुनुवाइ कार्यक्रममा सहभागी नागरिकहरूले आफ्ना राय, सुझाव, सल्लाह र गुनासा व्यक्त गरेका थिए। ती गुनासाहरूमा गाउँपालिका अध्यक्ष ध्रुव श्रेष्ठ, उपाध्यक्ष सुभद्रा अधिकारी, प्रमुख प्रशासकीय अधिकृत शेरसिंह रावत, सम्बन्धित विषयगत शाखा प्रमुख, वडाध्यक्षहरू र वडा सचिवहरूले जवाफ दिएका थिए।
गाउँपालिकाले सार्वजनिक सुनुवाइलाई स्थानीय तहको पारदर्शिता, जवाफदेहिता र सहभागिता अभिवृद्धिका लागि महत्वपूर्ण अभ्यासको रूपमा लिएको जनाएको छ।