‘विश्व वातावरण दिवस’को अवसरमा विदुरमा वातावरणमैत्री शिक्षाको सन्देशसहित बक्तृत्वकला प्रतियोगिता



नुवाकोट,जेठ २२ । ‘आजको आवश्यकता : वातावरणमैत्री शिक्षा’ नारासहित विदुर नगरपालिका–५ ले आयोजना गरेको बक्तृत्वकला प्रतियोगिता बिहीबार नगरप्रमुख राजन श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ। कार्यक्रममा सहभागी विद्यार्थीहरूले वातावरण संरक्षणको महत्व, जलवायु परिवर्तनको चुनौती र समुदायको भूमिकामाथि धारणा प्रस्तुत गरे। कार्यक्रममा उत्कृष्ट भएकाहरूलाई प्रमाणपत्र तथा शिल्ड प्रदान गरियो।

प्रतियोगितासँगै नगरभित्र विभिन्न प्रजातिका वृक्षहरूको रोपाइँ गरिएको थियो। नगरउपप्रमुख प्रभा बोगटीले वातावरण संरक्षणका लागि स्थानीय तहको दीर्घकालीन योजना आवश्यक भएको बताइन् । डिभिजनल वन अधिकृत रोशना पोखरेलले वन–सम्पदा सदुपयोग र संरक्षणका सवालमा युवाहरूलाई सक्रिय भूमिका लिन आह्वान गरिन् ।

कार्यक्रमको सभापतित्व वडा नं ५ का अध्यक्ष लिलानाथ न्यौपानेले गरेका थिए । डिभिजन वन कार्यालय नुवाकोट, रुम टु रिड र रुडेक नेपालको सहकार्यमा आयोजित कार्यक्रममा विद्यार्थी, अभिभावक तथा स्थानीय प्रतिनिधिसहित करिब दुई सय जनाको उपस्थिति थियो।

नगरप्रमुख श्रेष्ठले ‘हराभराउ विदुर’ अभियानलाई सफल बनाउन शिक्षा क्षेत्रकै अग्रसरता अपरिहार्य रहेको उल्लेख गर्दै विजयी वक्ताहरूलाई बधाई दिए । उनले वातावरणमैत्री पाठ्यक्रम र ‘एक विद्यार्थी, एक बोट’ कार्यक्रममार्फत विद्यालयस्तरमै सचेतना अभिवृद्धि गर्ने प्रतिबद्धता जनाए।

कार्यक्रम अन्त्यमा आयोजकले विश्व वातावरण दिवसको नारालाई आत्मसात् गर्न सबैलाई आ–आफ्नो घर, विद्यालय र समुदायमा वृक्षारोपण तथा फोहर व्यवस्थापनमा ध्यान दिन अनुरोध गरेका थिए।

प्रतिक्रिया दिनुहोस्