तादीमा साइबर अपराध सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

नुवाकोट,जेठ २३ — तादी गाउँपालिका–४ स्थित सुन्दरादेवी माध्यमिक विद्यालयमा “सावधानी अपनाऔं, साईबर अपराधबाट बचौं” भन्ने मूल नारासहित साइबर अपराध सम्बन्धी एक दिवसीय सचेतना कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम विद्यालयका प्रधानाध्यापक राजन पाठकको अध्यक्षतामा संचालन भएको थियो। इलाका प्रहरी कार्यालय, खरानीटारकी प्रहरी निरीक्षक जयन्ती थापा र तादी गाउँपालिकाका सूचना प्रविधि अधिकृत पुरुषोत्तम वाग्ले कार्यक्रमका प्रमुख प्रशिक्षकका रूपमा उपस्थित थिए ।
सचेतना कार्यक्रममा कक्षा ९ मा अध्ययनरत ३१ जना विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा साइबर अपराध के हो, यसका प्रकारहरू, सामाजिक सञ्जालको सुरक्षित प्रयोग, डिजिटल सुरक्षा, गोपनीयताको महत्त्व तथा साइबर अपराधबाट कसरी जोगिने भन्ने विषयमा विस्तृत जानकारी दिइएको थियो।
कार्यक्रमको उद्देश्य बढ्दो डिजिटल प्रविधिको प्रयोगसँगै देखापरेका साइबर चुनौतीहरूप्रति विद्यार्थीहरूलाई सजग बनाउनु र सुरक्षित डिजिटल व्यवहारप्रति अभिमुख गराउनु रहेको आयोजकहरूले बताएका छन्।