कालिकादेवी मावि गुर्जेको ३७औँ अभिभावक भेला तथा पुरस्कार वितरण कार्यक्रम



नुवाकोट, जेठ २३ – जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ६ मा अवस्थित कालिकादेवी माध्यमिक विद्यालय, गुर्जेमा शुक्रबार ३७औँ अभिभावक भेला तथा पुरस्कार वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्षको अस्वस्थताका कारण कार्यक्रमको अध्यक्षता समितिका सदस्य जीवन गुरुङले गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्द प्रसाद थपलिया थिए । उनले विद्यालयको शैक्षिक सुधार तथा सामुदायिक सहभागितामा जोड दिदै शिक्षालाई दिगो विकासको मेरुदण्डका रूपमा लिनुपर्ने धारणा व्यक्त गरे ।

कार्यक्रममा विभिन्न कक्षामा उत्कृष्ट प्रदर्शन गरेका विद्यार्थीहरूलाई प्रमाणपत्र तथा पुरस्कार वितरण गरियो। अभिभावकहरूको उल्लेखनीय सहभागिताले कार्यक्रमलाई थप उल्लासमय बनाएको थियो।

विद्यालयका प्रधानाध्यापक कृष्णकुमार श्रेष्ठले अभिभावक भेलाको उद्देश्य र विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अभिभावकको सक्रिय सहकार्य आवश्यक रहेको उल्लेख गरे ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको बाक्लो उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्