जनज्ञान निकेतन माविका विद्यार्थीलाई  शैक्षिक सामग्री र छात्रवृत्ति चेक वितरण



नुवाकोट,जेठ २३ । जिल्लास्थित नुवाकोट विकास संस्था तथा क्यापेन फ्रान्स (CAPEN France) को सहकार्यमा जनज्ञान निकेतन माध्यमिक विद्यालय, शिवपुरी–८, नुवाकोटका सबै विद्यार्थीलाई एक/एक दर्जन कापी तथा ६५ जना विद्यार्थीलाई छात्रवृत्ति रकमको चेक हस्तान्तरण गरिएको छ।

शुक्रबार सम्पन्न कार्यक्रम विद्यालय व्यवस्थापन समिति तथा नुवाकोट विकास संस्थाका अध्यक्ष हरिप्रसाद सिटौलाको अध्यक्षतामा सम्पन्न भएको हो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

नुवाकोट विकास संस्था विगतका वर्षदेखि नुवाकोट र शिवपुरी गाउँपालिकाका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्री जस्तै पोशाक सेट, कापी, झोला, छात्रवृत्ति चेक लगायतका सामग्रीहरू प्रदान गर्दै आइरहेको छ। संस्थाले शिक्षा क्षेत्रको विकास तथा पहुँच अभावमा परेका विद्यार्थीहरूलाई सहयोग पुर्‍याउने उद्देश्यका साथ निरन्तर रूपमा करोडौं रुपैयाँ लगानी गर्दै आएको जनाएको छ।

स्थानीय विद्यालयहरूमा यस प्रकारका सहयोग कार्यक्रमले विद्यार्थीहरूमा शैक्षिक उत्साह थपिएको र समुदायमा सकारात्मक सन्देश प्रवाह भएको सहभागीहरूको धारणा थियो।

प्रतिक्रिया दिनुहोस्