मनोहरा खोला अतिक्रमण, डुबानको उच्च जोखिम



काठमाडौं,जेठ २४ । मनोहरा खोला मिच्ने क्रम तीव्र बनेसँगै ललितपुरको च्यासल र काठमाडौँको सुविधानगर डुबानको उच्च जोखिममा छन् । 

गत वर्ष असोजको दोस्रो साता यो क्षेत्र पूरै डुबानमा परेको पीडा स्थानीयवासीले भुल्न नपाउँदै यस वर्षको मनसुन सुरु भइसकेको छ । पोहोरभन्दा यो वर्ष बढी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले यसअघि नै जानकारी गराइसकेको छ । सो क्षेत्रमा साबिक ४५ मिटर चौडा रहेको खोला अहिले २० मिटरमा सीमित भएको छ । खोलाको मध्य भागमा नै बाँध बाँधी अतिक्रमण गरिएको छ । 

आर्क पुलको अवरोध

डुबानको अर्को मुख्य कारण बनेको छ मनोहरा खोलाको ‘आर्क’ पुल । च्यासल र कोटेश्वरको दोभान क्षेत्र जोड्ने यो पुल आवतजावतका लागि सुविधा प्रदान गरे पनि वर्षामा बाँधको काम गर्दा डुबानको जोखिम कायम रहेको छ । खोलाको पिँधमै निर्माण गरिएको यो होचो पुलमा पानी बग्ने ठाउँ (वाटर वे) ज्यादै कम रहेकाले पानीको बहाब बढ्दा फोहोर र रुखबिरुवाले पुल थुनिन्छ र सो क्षेत्र डुबानमा पर्ने गरेको छ ।  पुलको मध्यभागमा ‘पिलर’ निर्माण गर्नुका साथै ‘एङ्गल सपोर्ट’ दिँदा पुल झन् साँघुरो बनेको उहाँको भनाइ छ । सो पुल २० वर्षअघि नै निर्माण गरिएको थियो । गत वर्षको बाढीमा बगेर आएको ग्यास ट्याङ्की उक्त पुलमा थुनिँदा सो क्षेत्र थप डुबानमा परेको थियो । डुबानले सो क्षेत्रसहित नेकपा (एमाले) को केन्द्रीय कार्यालयको एक तलासम्म पानी, हिलो र बालुवा जम्मा भई ठुलो क्षति पुर्‍याएको थियो ।

दीपनगर टोल सुधार समिति कोटेश्वरका अध्यक्ष नानीकाजी केसी सिलवालले मनोहरा खोलामा निर्माण गरिएको पुलको गलत डिजाइन र च्यासल रङ्गशालाद्वारा गरिएको खोला अतिक्रमणका कारण सो क्षेत्र डुबानमा पर्दै आएको बताउनुभयो । सो क्षेत्रमा बाढीको जोखिम सधैँका लागि हटाउन वर्षाको समयमा बग्ने पानीको आकलन गरी नयाँ पुल निर्माण तथा खोलाको अतिक्रमित जग्गा खुला गर्नुको विकल्प नरहेको उहाँको भनाइ छ ।

सडक विभागका पूर्वमहानिर्देशक अर्जुनजङ्ग थापाले सो क्षेत्रमा निर्माण गरिएको पुलको पानी बग्ने ठाउँ (वाटर वे) नपुगेको बताए । उनले भने, “कोटेश्वर चक्रपथस्थित मनोहरा खोलामा निर्माण गरिएको पुल त्यहाँ पनि निर्माण गर्नुपथ्र्यो तर पुलको पानी बहाबको क्षेत्र धेरै नै कम छ जसले गर्दा वर्षाको समयमा खोलामा आएको सबै पानी पुलबाट बगेर जान सक्दैन र बाढीको रूप लिन्छ ।” सो पुल भत्काएर नयाँ पुल निर्माण गर्नुपर्ने उनको सुझाव छ । 

नयाँ पुल निर्माणको सुझाव

नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले सो क्षेत्रको बाढीको समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराइसकिएको बताए । उनले सरकारको सम्बन्धित निकायको ध्यान गएको होला भन्ने विश्वास व्यक्त गरे । मनसुन सुरु हुँदा पनि अहिलेसम्म काम अगाडि बढ्न नसकेकोमा उनले चिन्तासमेत व्यक्त गरे । 

उनले भने, “हामीले सुझावका रूपमा सो क्षेत्रको उचित ठाउँमा तत्कालका लागि बेलिब्रिज निर्माण गरी अहिलेको पुललाई भत्काउन सुझाव दिएका छौँ । त्यो पुलले बाढीको निकास दिन सक्दैन । सामान्य पानीको समेत निकास दिन सक्दैन । बाढीको समयमा पुलमा फोहोर अड्किएर त्यो पुल बाँधजस्तो भयो ।” त्यो पुल होचो, छोटो र आर्क शैलीको भएका कारण त्यसको विकल्प खोज्नै पर्ने उनको भनाइ थियो । 

उनले पार्टीले सो क्षेत्रको बाढीको दीर्घकालीन समस्या समाधान तथा नयाँ पुलको निर्माणका लागि काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका र सडक विभागलाई औपचारिक जानकारी गराइएको बताए । सो क्षेत्रमा आउने बाढी एमाले पार्टी कार्यालयको मात्र समस्या नभएर सो क्षेत्रका स्थानीय सबैको समस्या भएको बताउँदै उनले सरकारले गत वर्षको बाढीलाई मनन गर्दै यसपालि विशेष सचेत हुनुपर्ने स्पष्ट पारे । बाढी आउनुको कारणमध्ये मनोहरा खोलाको अतिक्रमण पनि मुख्य समस्या रहेको बताउँदै उनले भने, “सो ठाउँमा धेरै खोलाको ठुलो क्षेत्र मिचिएको छ । खोलाको बहाब क्षेत्रलाई खुला गर्नु पर्छ ।”

सो पुलको डिजाइन गर्नुभएका इन्जिनियर सकिल मानन्धरले पुलको कारणले नभई खोलाको बहाब क्षेत्र मिचिएका कारण वर्षाको समयमा सो क्षेत्र डुबानमा पर्ने गरेको बताए । ४५ मिटरको खोला अहिले आधा जति पनि बाँकी नरहेको उनको भनाइ छ । उनले भने, “सो पुल ४५ मिटर लामो छ । पुलको डिजाइन राम्रो भएकाले नै बाढीले अरू पुल बगाउँदा त्यसमा कुनै क्षति हुन नसकेको हो । पुलको लम्बाइ जति खोलाको बहाब क्षेत्र पनि भएको भए सायद सो क्षेत्रमा डुबान नहुन सक्थ्यो ।’’ उनका अनुसार सो पुल निर्माण हुने समयमा अहिलेको च्यासल रङ्गशालाको फुटबल चौरसम्म खोला बग्थ्यो । अहिले खोलाको बहाब क्षेत्र झन्डै आधा अतिक्रमण भइसकेको छ । त्यसै गरी पुल निर्माण गर्ने बेला पुल खोलाको धेरै माथि थियो । गोरखापत्रबाट

प्रतिक्रिया दिनुहोस्