“गलतलाई गलत भन्न नडराउने पत्रकार चाहिन्छ” – प्रदेश सांसद श्रेष्ठ

भक्तपुर, जेठ २४ – “पत्रकारिता सत्यको पक्षमा उभिनुपर्छ। गलतलाई गलत र सहीलाई सही भन्न सक्ने आँट भएकै पत्रकारिताले समाज परिवर्तन गर्छ।” बागमती प्रदेशसभा सदस्य सुरेन्द्र श्रेष्ठले शनिबार यस्तो धारणा व्यक्त गरे।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) द्वारा आयोजित ‘पत्रकारितामा कृत्रिम बुद्धिमत्ता (AI) को प्रयोग’ विषयक दुई दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले पत्रकारिता पेशामा प्राविधिक ज्ञानसँगै नैतिकताको समेत विशेष ख्याल राख्नुपर्नेमा जोड दिए।
भक्तपुरको बोडेमा सम्पन्न उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष सुन्दर शिल्पकार, फोनिजका केन्द्रिय महासचिव समीर बलामी, फोनिज बागमती अध्यक्ष युवराज श्रेष्ठलगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागी पत्रकारहरूलाई एआईको माध्यमबाट समाचार संकलन, विश्लेषण, तथ्य जाँच, सामग्री उत्पादन तथा यसको प्रयोगमा देखिने चुनौतीहरूबारे प्रशिक्षण दिइएको थियो।